काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भावलाई खलबल पार्नेहरुबाट बचाउन टिकटकमा प्रतिबन्ध लगाउनुपरेको बताएका छन्।
आज नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई भक्तपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्रीले समाजमा विसंगति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष एक ठाउँमा उभिएर निर्णय गरेको बताए।
उनले अन्तर्राष्ट्रियस्तरमा समेत सबैभन्दा लोकतन्त्र र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्नेकुराको अध्ययन गरेर सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउने उद्देश्यले टिकटक बन्द गर्नुपरेको बताए।
उनले १० अर्बको कोष खडा गरेर भूकम्प पीडितलाई सहयोग प्रक्रिया अघि बढाएको बताए। टिकटक बन्द गर्ने सरकारको उद्देश्य समाजमा विकृति, विसंगति र अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोक्न, नियमन गर्न भन्ने मान्यताबाट उत्प्रेरित भएर गरेको स्पष्टोक्ति थियो।
उनले भने,‘समाजमा विसंगति, विकृति,अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई के गरी नियन्त्रण गर्ने? भन्ने विषयमा लामो छलफलपछि अन्तर्राष्ट्रिय स्तरमा समेत सबैभन्दा लोकतन्त्र र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्नेकुराको अध्ययन गरेर सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन उद्देश्यले गरेको हो। सरकारको उद्देश्य म प्रधानमन्त्री हुँदा नेपाली समाजमा विकृति, विसंगति र अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोक्न,नियमन गर्न भन्ने मान्यताबाट उत्प्रेरित भएर गरेको छु।’