सरकारले संसदीय क्षेत्र पूर्वाधारको ८ अर्ब रुपैयाँ पुनर्निर्माणमा खर्च गर्ने

काठमाडौं। सरकारले संसदीय क्षेत्र पूर्वाधार कोषको ८ अर्ब रुपैयाँ भुकम्पपछीको पुनर्निर्माणमा खर्च गर्ने भएको छ। मन्त्री परिषदको बैठक बसेर सोमबार सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याएको आठ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनःस्थापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको हो।

साथै बैठकले उक्त रकममा एक अर्ब ७५ करोड रुपैयाँ थप गरेर कुल १० अर्ब रुपैयाँ विपद् व्यवस्थापनका लागि उपलब्ध गराउने निर्णय गरेको छ।

यसैगरी बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

भूकम्पका कारण आवासको पूर्ण क्षति भएका र आंशिक क्षति भए पनि बसोबास गर्न योग्य नरहेका परिवारलाई अस्थायी आवास निर्माणका लागि दुई किस्तामा गरी प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।

यस्तो रकम विपद् व्यवस्थापन कोषबाट सम्बन्धित पालिकामा पठाउने र पालिकाले परिवारको स्वघोषणा र सम्बन्धित वडाको सिफारिसमा लाभग्राहीको बैंक खातामा सिधै उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।