यसकारण नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय लियो

काठमाडौं।सरकारले देशभरि सामाजिक सञ्जालको एप टिकटक बन्द गर्ने निर्णय लिएको छ। सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हो।

टिकटकमा पछिल्लो समय सामाजिक सद्भाव बिथोलिने गतिविधिहरू बढ्दै गएपछि टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयमा सरकार पुगेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो। मन्त्री शर्माले तत्काल टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिँदै कार्यान्वयनमा जान प्राविधिक रूपमा केही समय लाग्ने बताउनुभयो।

हिजो सरकारले निर्णय गरेलगत्तै नेपाल दुरसञ्चार प्राधिकरणलाई पत्र पठाएर यसलाई तत्कालै बन्द गर्न निर्देशन समेत दिएको छ भने प्राधिकरणले पनि प्रक्रिया अगाडी बढाईसकेको छ। जसअनुसार अबको केही बेरमा टिकटक नेपालमा पूर्णरुपमा वन्द हुनेछ।

मन्त्री शर्माले भन्नुभयो,‘सामाजिक सञ्जाल टिकटकबाट लगातार सामाजिक सद्भाव बिथोलिने गरी, हाम्रो पारिवारिक संरचना, हाम्रो सामाजिक सम्बन्धलाई खलबल हुने गरी प्रचारप्रसार भइरहेका छन्। यस सन्दर्भमा अहिले तत्काललाई टिकटक बन्द गर्ने भन्ने निर्णय गरेको छ।’

यसअघि सरकारले टिकटक मुख्यालयका प्रतिनिधिसँग सामाजिक सद्भाव भड्काउने सामग्री स्वतः हट्ने र त्यस्ता प्रयोगकर्तालाई कारबाही गर्ने विषयमा छलफल गरेको थियो। भारत, अस्ट्रेलिया, बेल्जियम, फ्रान्स, डेनमार्क, क्यानडा, अफगानिस्तान, ताइवान, नेदरल्यान्ड्सलगायतका देशमा पनि टिकटकमाथि प्रतिबन्ध लगाइएको छ ।