अमेरिका।अमेरिकामा पनि हिन्दु नेपालीहरुको दोश्रो ठुलो चाड यमपञ्चक अर्थात तिहारको तेश्रो दिन गाई तिहार मनाइएको छ। मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा पहिलो पटक गाईको पूजा गरेर गाई तिहार मनाइएको हो। सम्भवत अमेरिकामा नै पहिलो पटक गाईलाई भौतिक रुपमा पूजा गरेर गाई तिहार मनाइएको हो।
उत्त क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले नेपाल छोडेको कैयौ वर्षपछि गाईको नै पूजा गरेर गाई तिहार मनाउन पाउँदा निकै हर्षित भएका छन्। हिन्दु बुद्ध मन्दिर तथा पर्वत समाज अमेरिकाले बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरको प्राङ्गणमा गङ्गा र जमुना नामका दुई वटा बाच्छी ल्याएर गौपुजन गर्ने व्यबस्था गरेका थिए।
हिन्दु बुद्ध मन्दिरका सदस्य तरुण पौडेलले नेपालमै गाई पूजा गरेझैँ अमेरिकामा पनि गाई पूजा गर्न पाईएकोमा खुसि व्यक्त गरे। त्यस्तै पर्वत समाज अमेरिकाका सदस्य प्रविन भण्डारीले यसरी समुदायलाई सेवा गर्ने अवसर पाएकोमा निकै गर्व लागेको बताए।
कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन नेपाल र अमेरिकाको बाल्टिमोरमा गाईको पूजाआजा गरियो। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।