जाजरकोट भुकम्प पीडितलाई ‘मिल्वाकी नेपाली परिवार’को सहयोग

काठमाडौं। जाजरकोट भुकम्प पीडितलाई अमेरिकामा रहेको मिल्वाकी नेपाली परिवारले राहत सामाग्री सहयोग गरेको छ।

अमेरिकाको विस्कन्सीनस्थीत मिल्वाकीमा रहेका नेपालीहरुको सहयोगमा गत कार्तिक १७ गते राती जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पबाट प्रभावित वनेका जाजरकोट र रुकुम पश्चिमका पीडित परिवारलाई चिसोबाट बच्न राहतस्वरुप २ सय१० वटा फाइबर सिरक सहयोग गरिएको हो।

मिल्वाकी आसपासका नेपालीहरुले चन्दा संकलन गरि भुकम्प प्रभावीतलाई राहत उपलब्ध गराउन सहयोग गरेकोमा मिल्वाकी परिवारले सम्पुर्ण चन्दादाताहरुलाई धन्यवाद र आभारसमेत व्यक्त गरेको छ।

यसअघी २०१५(२०७२)मा गएको गोरखा भुकम्पमा पनि मिल्वाकी परिवारले प्रधानमन्त्री राहत कोषमा करिब ८० हजार अमेरिकी डलर जम्मा गरेको थियो।

राहत उपलब्ध गराएसँगै मिल्वाकी परिवारले राहत सामाग्री प्रभावित क्षेत्रमा पुराउन सहजिकरण गर्ने न्यानो अभियानका सहयोगी समाजसेविहरुलाई आभार व्यक्त गर्दै यस विपदले उत्पन्न दुखको घडिमा सहयोग गर्न सम्पुर्ण विदेशमा रहेका नेपालीहरुलाई अपिल पनि गरेको छ।

सन् २०१२मा स्थापित मिल्वाकी नेपाली परिवारले नेपालमा आइपर्ने हरेक विपदहरुमा सहयोगी भुमिका निर्वाह गर्दै आएको छ।