सर्वोच्च अदालत तिहारमा पनि खुला रहनेछ

काठमाडौं। सर्वोच्च अदालत तिहारको बिदामा पनि खुला रहने भएको छ। तिहार अवधिमासमेत बन्दी प्रत्यक्षीकरण, निवेदन दर्ता लगायतका कामका लागि सर्वोच्च अदालत खुला रहने भएको हो। सर्वोच्च अदालतले आजदेखि बिहीबारसम्मका लागि न्यायाधीशहरुलाई विभिन्न जिम्मेवारी तोकेको छ।

सर्वोच्च अदालतका अनुसार आज न्यायाधीश प्रकाशमान सिंह राउत, कात्तिक २७ गते सोमबार न्यायाधीश सपना प्रधान मल्ल, कात्तिक २८ गते मंगलवार न्यायाधीश हरिप्रसाद फुयाँल र कात्तिक ३० गते बिहीबार न्यायाधीश कुमार रेग्मीलाई जिम्मेवारी तोकिएको छ।

कात्तिक २९ गते भाइटीकाको दिन भने अदालत बन्द रहने भएको छ। सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका लागि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म इजलास रहनेछ। बन्दी प्रत्यक्षीकरण लगायतका रिट दर्ता गर्नका लागि भने कर्मचारीहरु बिहान १० बजे नै अदालतमा उपस्थित हुने जनाइएको छ।