एनआरएनए शर्मा समुहद्धारा जाजरकोट र रुकुम पश्चिममा राहत वितरण

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए)को राजेन्द्रकुमार (आरके)समुहले भुकम्प प्रभावित क्षेत्रमा राहत वितरण गरेको छ। भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा गत कार्तिक १७ गते शुक्रबार राति गएको भूकम्पबाट प्रभावितहरुलाई गैरआवासीय नेपाली संघले मंगलबार राहत सामग्री हस्तान्तरण गरेको हो।

संघको शर्मा समुहको एक टोली जाजरकोटको बागान गाउँमा पुगी त्यहाँस्थित भूकम्प प्रभावितहरुलाई प्रत्यक्ष भेटेर राहत सामग्री हस्तान्तरण गरेको हो। राहत सामग्री वितरण गर्दै गैरआवासीय नेपाली संघले भूकम्पको कारणले सिंगो देश लगायत विदेशमा रहेका नेपालीहरुको मन दुखेको बताएको छ।

संघले विदेशमा बस्ने नेपाली दाजुभाई दिदी बहिनीहरुको गाँस काटेर संकलन भएको सानो सहयोग भूकम्प पीडित समक्ष ल्याउन पाउँदा आनन्द आएको बताएको छ। यस्तै संघका महासचिव गौरीराज जोशीको नेतृत्वमा रुकुम पश्चिम पुगेको संघको टोलीले स्थानिय सरकारको समन्वयमा मंगलबार विहान राहत सामग्री वितरण गरेको छ।

संघका महासचिव गौरीराज जोशीका अनुसार भूकम्प अति प्रभावित आठबीसकोट नगरपालिकामा गैरआवासीय नेपाली संघको तर्फवाट भूकम्प पीडित घरपरिवारहरुको लागि राहत सामग्री हस्तान्तरण गरिएको हो। संघले रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल २०० थान, फेन्सी कपडा १० सेट (२०० थान), ब्लाङ्गकेट २०० थान, चप्पल ४०० जोर, चामल ४०० बोरा, दाल १०० केजी, १००० लिटर तेल, ५०० केजी नुन लगायतका राहत सामग्री हस्तान्तरण गरेको छ। यस्तै जाजरकोटमा पनि सोही परिमाणमा राहत सामाग्री वितरण गरिएको हो ।