चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी आज नेपाल भ्रमणमा आउँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं। आज चिनियाँ कम्युनिस्ट पार्टीका एक उच्च अधिकारी नेपाल भ्रमणमा आउने भएका छन्। पार्टी तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने भ्रमणका लागि आज नेपाल आउन लागेका हुन्।

उनको भ्रमणलाई सरकारले प्राथमिकता दिएको प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले जानकारी दिए। नेपाल बसाइको क्रममा उनले बुधबारदेखि नै उच्चस्तरीय भेटवार्ता सुरु गर्नेछन्।

आज उनले उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई भेट्ने कार्यक्रम छ भने भोली बिहान ८ बजे उनले प्रधानमन्त्री प्रचण्डसँग र बिहान ११ बजे संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीसँग भेटवार्ता गर्नेछन्। भेटवार्तामा दुईपक्षीय सहयोग आदान–प्रदानका विषयमा छलफल हुनेछ।

साथै प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे विशेषरुपमा छलफल हुने प्रधानमन्त्री प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार सापकोटाको भनाइ छ। तिब्बतको कार्यकारी प्रमुख रहेका वाङले पोखरा भ्रमण पनि गर्नेछन्।