काठमाडौं। इजरायलमा ज्यान गुमाएका सबै नेपालीको शवको पहिचान भएको छ। प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणका क्रममा ज्यान गुमाएका १० जनामध्ये पहिचान हुन बाँकी २ जनाको पहिचान खुलेसँगै सबै शवको पहिचान पुष्टी भएको हो।
तेलअभिभमा रहेको नेपाली राजदूतावासले प्रेस विज्ञप्ति निकालेर थप २ जना विद्यार्थीको शवको पहिचान भएको जनाएको हो। राजदूतावासका अनुसार हिजो सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द साहको शव पहिचान भएको हो।
यसअघि ८ जना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको थियो। राजदूतावासले पहिचान भएका शवहरू छिट्टै पठाउने व्यवस्था मिलाउने पनि जनाएको छ। यसअघि पहिचान भएका डोटीका राजन फुलरा,पदम थापा र सल्यानका प्रवेश भण्डारीको शव आउन बाँकी रहेको छ।
यसअघि राजदूतावासले बझाङमा गणेशकुमार नेपाली, दार्चुलाका दिपेशराज विष्ट र लोकेन्द्रसिंह धामी, कैलालीका आशिष चौधरी र नारायणप्रसाद न्यौपानेको शव पठाइसकेको छ। त्यस्तै, सम्पर्कविहीन रहेका विपीन जोशीको खोजी जारी रहेको पनि राजदूतावासले जनाएको छ।