एनआरएनएको आधिकारिकता दावी गर्दै अध्यक्ष आरके शर्मा पुगे परराष्ट्रमा

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को आधिकारिकता दाबी गर्दै अध्यक्ष आरके शर्मा परराष्ट्र मन्त्रालय पुगेका छन्। गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै बहुसंख्यक समूहले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो।

सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेश गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरु आधिकारिक रहेको दावी गरेको हो। उक्त निवेदन परराष्ट्रमा ११२३ नम्बरमा दर्ता गरिएको छ।

परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदी सहित पदाधिकारीहरुको नामावली पेश गरिएको छ। आधिकारिकताको दावी गर्दै निवेदन दर्ता भए पनि यस विषयमा भने पछि निर्णय हुने मन्त्रालयले जनाएको छ।

अनलाइन माध्यमबाट गरिएको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदा काठमाडौंबाटै मतदान गरेका उपाध्यक्षका उम्मेदवार डा.केशव पौडेलको शुन्य मत आएपछि त्यतिबेला अध्यक्षका अरु दुई जना उम्मेदवार आरके शर्मा र महेश कुमार श्रेष्ठले मत परिणाम स्वीकार नगर्ने घोषणा गरेका थिए।

सुरुमा विवादको छानबिन गर्न सहमति जनाएर एकाएक निर्वाचन समितिका एक सदस्यबाट बद्री केसी लगायतले शपथ लिएपछि ललितपुरको होटेल हिमालयमा बन्द सत्र गरेर आरके शर्माको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको थियो।

आरके शर्मा पक्षले अर्को समूहले धाँधली गरेर मत परिणाम प्रभावित पारेकाले आफूहरुले नमान्ने बताउँदै आएको छ।