मुगुमा एकै परिवारका चार जनाको सामूहिक हत्या

काठमाडौं। मुगुमा एकै परिवारका चार जनाको सामूहिक हत्या भएको छ।आज(शुक्रबार)छायानाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा एकै परिवारका २८ वर्षीया आमा श्रीदेवी बोहोरा,७ महिने छोरा रहर,८ वर्षीया छोरी छिता र ११ वर्षीय छोरा मनोजको घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेको हो।

घरभित्र हत्या गरिएको अवस्थामा चारैजनाको शव दे‍खेपछि बिहान छिमेकीले प्रहरीलाई खबर गरेका थिए। त्यसलगत्तै घटनास्थल पुगेको प्रहरीको टोलीले अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी उनीहरूको हत्या गरेको जनाएको छ।

प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाकाअनुसार घटना दुई दिन अगाडि भएको हुनसक्ने अनुमान गरिएको छ।कात्तिक ८ गते बिहानदेखि सो घरमा ताला लगाएको थियो।लामो समयसम्म घरको ताला नखोलेपछि छिमेकीले आज बिहान ९ बजेतिर ढोका खोलेर हेर्दा चारैजनाको विभत्स रुपले हत्या गरिएको अवस्थामा देखेका थिए।

अहिले प्रहरीले घटना स्थललाई घेरा हाली अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ भने शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको छ। हत्या गरिएकी महिलाले लगाएको गहना समेत चोरी भएको प्रहरीले बताएको छ।मृतकका महिलाका श्रीमान् एक वर्षदेखि वैदेशिक रोजगारीमा रहेको बताइएको छ।