इजरायलबाट ल्याइएको गणेशको शव आफन्तलाई बुझाइयो

काठमाडौं। इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव बझाङ पठाइएको छ। गएराति १ बजे नेपाली सेनाको हेलिकोप्टरबाट धनगढी पुराइएको नेपालीको शव बझाङ पठाइएको हो।

फ्लाई दुबईको विमानमार्फत् हिजो बिहान ७ बजे काठमाडौं आइपुगेको थियो। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने,‘राती १ बजे शव धनगढी पुगेको थियो। सोही समय हामीले धनगढी नेत्रालयको एम्बुलेन्समार्फत् शवलाई बझाङ् पठाएका छौं।’

नेपालीको आज नै हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिने छ। इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये चार जनाको शव आइतबार आफन्तको जिम्मा लगाइएको थियो। नेपालीको शव पनि गएराती धनगढी पुगेसँगै पाँच जनाको शव आफन्तको जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव ल्याइसकिएको छ।

प्रदेशका थप दुई जनाको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए संकलन गरी पठाइएको र चाँडै नेपाल ल्याइ आफन्तको जिम्मा लगाइने जनाइएको छ। सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कविहीन रहेका छन्।