राप्रपा अध्यक्ष लिङ्देन अमेरिका प्रस्थान,यस्तो छ भ्रमण तालिका…

काठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन अमेरिका भ्रमणमा गएका छन्। पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज(पानस) अमेरिकाको निमन्त्रणामा त्यहाँका विभिन्न राज्यमा हुने कार्यक्रममा सहभागी हुनका लागि अध्यक्ष लिङ्देन गएराती अमेरिका भ्रमणमा निस्किएका हुन्।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देन करिब १२ दिने भ्रमणका लागी अमेरिका प्रस्थान गरेका छन्। ’अध्यक्ष लिङ्देनले टेक्सासको ड्यालसमा हुने पानस अमेरिकाको तेश्रो राष्ट्रिय अधिवेशनको समुद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ,’श्रेष्ठले भने।

प्रतिनिधिसभा सदस्य एवं पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष लिङदेनले अमेरिका भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीहरूसँग भेटघाट एवं अन्तरक्रिया गर्ने कार्यक्रम रहेको पनि श्रेष्ठले जानकारी दिए। अध्यक्ष लिङदेनले पार्टीका उपाध्यक्ष तथा सांसद बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर अमेरिका प्रस्थान गरेका हुन्।

लिङ्देनको भ्रमण टोलीमा उनकी श्रीमती सीता थापा लिङ्देन, राप्रपा सहायक महामन्त्री विजय खड्का, केन्द्रीय सदस्य एवं प्रवास विभागका प्रमुख आनन्द अधिकारी रहेका छन्। अध्यक्ष लिङ्देन कार्तिक २१ मा स्वदेश फर्किने कार्यक्रम रहेको छ।