एनआरएनए अध्यक्षद्वय बद्री केसी र आरके शर्माबिच भेटवार्ता: मिलेर जान केसीको प्रस्ताव, पुनःनिर्वाचन गर्नुपर्ने शर्माको जवाफ

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्षद्वय डा.बद्रि केसी र राजेन्द्रकुमार(आरके)शर्माबिच भेटवार्ता भएको छ। बिहीबार साँझ भएको भेटवार्ताका क्रममा डा.केसीले मिलेर जान शर्मालाई प्रस्ताव गरेका छन्।

केसीले निर्वाचनमा भएको धाँधलीको विषयमा छानबिनका लागि आफू मातहतको समिति बनाउन प्रस्ताव गरेका छन्। तर, शर्माले भने पुनर्निर्वाचन नभएसम्म अरू विकल्पमा सोच्न नसकिने जवाफ फर्काएका छन्। साथसाथै शर्माले पुनर्निर्वाचनका लागि केसीले विज्ञप्ति निकालेर आए आफूले साथीहरूसँग छलफल गर्नेसमेत प्रतिक्रिया दिएका छन्।

केसीसँगको भेटपछि अध्यक्ष शर्माले भने,‘भेटमा मैले निर्वाचन त्रुटिपूर्ण रह्यो, पुनर्निर्वाचन भयो भने सोच्न सकिन्छ,यसको अरू विकल्प छैन भनेर स्पष्ट कुरा राखेको छु,२० तारिखको सम्झौता कार्यान्वयन नहुँदा बाध्य भएर हामीले वैधानिक ढङ्गले कार्यक्रम गरेर मेरो नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेका छौँ । एनआरएनएको माया उहाँमा छ भने पुनर्निर्वाचनका लागि तयार हुनुपर्छ ।’

शर्माले निर्वाचन परिणाममा धेरै त्रुटि भेटिएको र आम जनमानसमा पनि विश्वास टुटिसकेकाले एनआरएनएलाई पुरानै साखमा फर्काउन पुनर्निर्वाचनको विकल्प नभएको बताएका छन्। निर्वाचन प्रक्रियामा त्रुटि भएको कुरा केसीले पनि विज्ञप्तिमा स्वीकार गरिसकेको विषय भएको शर्माको भनाइ छ। आम जनताले पनि त्यही कुरा स्वीकारेको भन्दै शर्माले त्रुटिपूर्ण निर्वाचन भइसकेपछि अरू विकल्प सोच्न नसकिने दोहोर्‍याए।

राजधानीको ठमेलस्थित हिमालयन जाभामा करिब ३० मिनेट लामो भेटका क्रममा आँफुले मिलेर जाने प्रस्ताव गरेपनि अहिलेको अवस्थामा मुल मुद्दा सम्बोधन हुन नसकेकाले शर्माले स्वीकार नगरेकोले त्यसपछि कुनै समझदारी बन्न नसकेको केसीले बताएका छन्।

कात्तिक ३ गते(अक्टोबर २०)निर्वाचन परिणामको विषयमा प्रश्न उठेपछि केसीसहित कुल आचार्य र रविना थापाले एक विज्ञप्ति जारी अर्को निर्णय नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित भएको घोषणा गरेका थिए। तर, त्यसको भोलिपल्टै एकाएक केसी विजयी भएको घोषणा गरेर अध्यक्षको शपथ गराइएको थियो।

सहमतिअनुसार १५ दिनभित्र निर्वाचनमा भएको भनिएको धाँधलीबारे छानबिन गर्ने र त्यसबारे आउने रिपोर्टका आधारमा अघि बढ्ने भनिएपनि केसीले एकाएक शपथ लिएपछि शर्मा समूह चिढिएको थियो। लगत्तै अध्यक्षका अर्का उम्मेदवार महेश श्रेष्ठ समेतको समर्थनमा केसी इतर पक्षले महाधिवेशनको बाँकी प्रक्रिया पुरा गरेर आरके शर्मालाई अध्यक्ष चयन गरेको थियो।

केसी अवैध बाटोबाट अध्यक्ष चुनिएको र आफूहरु नै आधिकारिक रहेको शर्मा पक्षधरको दाबी छ। असोज ३ गते जारी विज्ञप्तिमा कात्तिक २ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम घोषणाको क्रममा देखा परेको प्राविधिक त्रुटिका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको उल्लेख थियो।

जसमा केसीको समेत हस्ताक्षर थियो। भेरो नामक अनलाइन भोटिङमार्फत भएको एनआरएनए निर्वाचनमा सिस्टम ह्याक गरेर मतपरिणाम तलमाथि बनाइएको असन्तुष्ट पक्षको दाबी छ।