काठमाडौं। आज दशैंको चौथो दिन,आफन्त तथा मान्यजनबाट नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टिका र जमरा लगाइ आशीर्वाद लिने क्रम जारी रहेको छ।
विजयादशमीका दिन टिका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजाग्रत पूर्णिमासम्म टिका लगाउने परम्परा छ। घटस्थापनादेखि नौ दिनसम्म दुर्गाभवानीको पुजाआराधना गरेर राखिएको जमरासहितको टिका विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने गरिन्छ।
पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र टिका लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दशैं मनाइँदै आएको छ।
कोजाग्रत पूर्णिमाका दिन भोलि रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि यस वर्षको बडादशैं समाप्त हुनेछ ।