राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आज अमेरिका जाँदै, यस्तो छ भ्रमण तालिका…

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आज साँझ अमेरिका भ्रमणमा जाने भएका छन्। अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको निमन्त्रणामा अमेरिका जान लागेका हुन्।

अमेरिकाको विभिन्न राज्यमा हुने भ्रमणको क्रममा अध्यक्ष लिङ्देनले टेक्सासको ड्यालसमा हुने पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशनको उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन्।

अमेरिकामा रहँदा अध्यक्ष लिङ्देन अक्टोबर २८ मा मोमो महोत्सव (फेस्टिभल)मा प्रमुख आतिथ्य ग्रहण एवं नेपालीहरूसँग भेटघाट एवं अन्तरक्रिया गर्ने कार्यक्रम छ।अक्टोबर २९ मा ड्यालसको करि लिफ वैङ्कटमा पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशनलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नेछन्।

त्यस्तै अक्टोबर ३० का दिन साँझ केन्टकीका नेपाली समुदायसँग साक्षात्कार गर्नेछन् भने अक्टोबर ३१मा ओहायोमा विश्व भुटानी संगठनद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा सहभागी हुनेछन्। नोभेम्बर २ मा वाशिंगटनस्थित नेपाली दूतावासको भ्रमण तथा अन्तरक्रिया गर्ने कार्यक्रम छ।

त्यसपछि नोभेम्बर ४ मा न्यूयोर्कमा प्रवासी नेपाली एकता समाज पानस न्यूयोर्क च्याप्टरद्वारा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख आतिथ्य गरी नोभेम्बर ५ मा मेरिल्यान्ड बाल्टिमोरमा पानसद्वारा आयोजित भेटघाट कार्यक्रममा सहभागी हुनेछन्।

भ्रमण टोलीमा अध्यक्ष लिङ्देनकी धर्मपत्नी सीता थापा लिङ्देन, राप्रपा सहायक महामन्त्री विजय खड्का, केन्द्रीय सदस्य, प्रवास विभागका प्रमुख आनन्द अधिकारी रहने छन्। भ्रमण सकेर अध्यक्ष लिङ्देन नोभेम्बर ७ मा नेपाल फर्कने कार्यक्रम तय भएको छ।