
काठमाडौं। इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ। आज बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव नेपाल ल्याईएको हो।
परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले हमास आक्रमणबाट ज्यान गुमाएका १० नेपाली विद्यार्थीमध्ये यसअघी ४ र आज थप १ गरि ५ जनाको शव ल्याईएको र बाँकी पाँचजनाको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए सङ्कलन गरी पठाइएको जानकारी दिएका छन्।
उनकाअनुसार आज फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे नेपालीको शव ल्याइएको हो। गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा दस नेपाली विद्यार्थीको मृत्यु भएको थियो। सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत् उनीहरु इजरायल गएका थिए।
सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कबिहीन रहेका छन्। केहीसमय अघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो।