काठमाडौं।आज बडादसैँको दोस्रो दिनः हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज पनि जारी छ।विजयादशमीको शुभसाइत हिजै सकिए पनि टीका थापेर आशीर्वाद लिने क्रम आज एकादशीका दिन पनि जारी छ।
टाढा रहेका आफन्त तथा मान्यजनहरु कहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैंको टीका थाप्ने र आशिर्वाद लिने चलन छ। त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउ–जाउ गर्नेहरुको चहलपहल जारी छ।
आश्विन शुक्ल दशमीअर्थात् विजयादशमीदेखि सुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमाअर्थात् कोजाग्रत पूर्णिमाका दिन सबै(अखिल)बलि पूर्ति नभएसम्म जारी रहन्छ। कोजाग्रत पूर्णिमासम्म नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ। कतिपय स्थानमा टीकाको मूल दिन मात्र टीका लगाउने गरिन्छ। आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने चलन रहेको छ।