आज महानवमी, दुर्गा भवानीको पूजा गरिँदै

काठमाडौं। आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजा गरिन्छ ।महानवमीमा दुर्गाको पूजा गरेपछि घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ। यसदिन पनि शक्तिपीठ तथा दशैँघरमा पशुबलि दिने गरिन्छ।

हाअष्टमीको राती गरिएको कालरात्रिको पूजा पूर्ण गर्नका लागि महानवमीमा हवन गर्ने विधि छ।खिर,तिल र घिउ मिश्रित चरु देवीलाई हवन गरिन्छ। आजको दिनसम्म शक्तिपीठहरुको दर्शन गर्ने गरिन्छ। महानवमीमा तलेजुको मन्दिर सर्वसाधारणका लागि खुला गरिन्छ। नवरात्रमा दुर्गाका नौ स्वरूपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ।

देवीका तीन रूपमध्ये महाकालीलाई शक्ति,महालक्ष्मीलाई श्री र महासरस्वतीलाई विद्याकी देवी मानिएको छ। दसैंको नौ दिनसम्मको नवरात्र अनुष्ठान महानवमीमा सम्पन्न गरिन्छ भने नवदुर्गाको प्रसाद दशमीका दिन लगाइन्छ। महानवमीको दिन आफू चढ्ने सवारी साधनको पनि पूजा गर्ने चलन छ।

महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई मारेकोले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ। महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ।

यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ। प्रत्येक वर्ष महानवमीका दिन बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइने चलन छ।