काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गैरआवासीय नेपाली संघ(एनआरएनए)को ११ औँ विश्वसम्मेलनको समापन समारोहमा सहभागी नहुने भएका छन्। एक पक्षले एनआरएनएको निर्वाचनमा कार्यकारी अध्यक्ष बद्री केसी समूहले सिस्टम ह्याक गरेर आफ्नो पक्षमा नतिजा पारेको आरोप लगाएर विवाद उत्पन्न भएसँगै प्रधानमन्त्रीले विश्व सम्मेलनको समापन समारोहमा सहभागी नहुने निर्णय लिएका हुन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले पूर्वनिर्धारित कार्यक्रम भएपछि एनआरएनएभित्रको पछिल्लो विवादका कारण प्रधानमन्त्री नजाने निश्चित भएको बताए । असोज ३० गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको विश्व सम्मेलनको समापन प्रधानमन्त्रीले गर्नेगरी एनआरएनएले कार्यतालिका बनाएको थियो ।
तर, निर्वाचनमा भेरो नामक अनलाइन भोटिङ सिस्टम ह्याक गरेर अध्यक्षको दोस्रो कार्यकालका उम्मेदवार बनेका बद्री केसीले आफ्नो पक्षमा नतिजा देखाएका दुई उम्मेदवारहर आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छन् । उनीहरुले निर्वाचन खारेज गर्दै दोषीमाथि कानुनी कारबाही गर्न माग समेत गरेका छन् ।
यसैबीच नतिजापछि एनआरएनएको एक टोलीले प्रधानमन्त्रीलाई भेटेको छ । भेटका क्रममा प्रधानमन्त्रीले धाँधलीबारे चासो राख्दै सबै पक्षसँग बुझेर आवश्यक कदम चाल्ने बताएका छन् ।