एनआरएनए चुनावः निर्वाचन मतपरिणामविरुद्ध साइबर क्राइम पुग्यो निवेदन

काठमाडौँ। गैरआवासीय नेपाली संघ(एनआरएनए)को विवाद झनै बढ्दै गएको छ। कार्तिक २ गते मतदानपछि आएको नतिजासँगै विवाद चुलिएको हो।अहिलेको नतिजाअनुसार बद्री केसी संघको अध्यक्षमा निर्वाचित भएपनि यसलाई मान्यता दिन नसकिने पराजित पक्षले बताएको छ।

महासचिवका उम्मेदवार रहेका बुद्धि सुवेदीले निर्वाचन अपेक्षा गरेअनुसारको नभएको र भेरो भोटिङ अनलाइन कम्पनी रसियन कम्पनी भएको र अस्ट्रेलियामा दर्ता रहेको तर यो कम्पनीले ह्याक गरेर नतिजा निकाल्ने भएकाले विश्वास नलागेको बताए।

उनले उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको मत नेपालबाट खसेको शून्य मत रहेकाले पनि प्रमाण स्वतः सिद्ध हुने जिकिर गरे। उनले साइबर क्राइममा समेत यस विषयमा निवेदन हालेको बताए।

त्यस्तै निर्वाचित उपाध्यक्ष हेमराज शर्माले अनलाइन भोटिङबाट आएको परिणामलाई स्वीकार गर्न सक्नुपर्ने बताए। उनले एक उपाध्यक्षका उम्मेदवारको नेपालबाट खसेको मत शून्य हुनु समस्याको जड रहेको बताए।

उनले शून्य मत नहुनुपर्ने भए पनि मत नहराएको तर टेबुलमा मत गणना गर्न त्रुटि भएको हुनसक्ने बताए। उनले भेरो आएर यथार्थलाई भनिदिनुपर्ने बताए। उनले पुनः गणना गर्नुपरे पनि आफूहरू तयार रहेको बताए।