कोशीमा सत्ता गठबन्धन विरुद्ध शेखर कोइराला, मुख्यमन्त्री बने केदार कार्की

काठमाडौं। कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले उहाँलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।

मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेस गर्नुभएको थियो। यद्यपि अन्तिम समयमा उहाँले आफ्नो दाबी कमजोर रहेको र शीर्ष नेताबिच छलफल जारी रहेको हुँदा सनाखत तत्काल नगराउने बताउनुभएको थियो।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो। यसअघि असोज २० गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि राजीनामा दिनुभएको थियो।

प्रदेशसभामा रहेका ९३ सांसदमध्ये बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्। कार्कीले काँग्रेसका ८ सांसद लिएर एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो।