एनआरएनए निर्वाचनः आरके शर्माको टिमबाट उपमहासचिवमा गुरुङ र कोषाध्यक्षमा ढुंगाना उमेदवार

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षका उमेदवार आरके(राजेन्द्रकुमार) शर्माको टिममा उपमहासचिव र कोषाध्यक्ष पदका उमेदवारको टुँगो लागेको छ। शर्माको उम्मेदवारीलाई समर्थन गर्दै उपमहासचिवमा कतारका प्रविन गुरुङ र कोषाध्यक्षमा युएईका ठाकुर ढुंगाना प्रत्यासी बनेका छन्।

गुरुङ वर्तमान आइसीसी सचिव हुन् भने ढुंगाना एनसीसी युएईका निवर्तमान अध्यक्ष हुन्। गुरुङ कतारमा र ढुंगाना युएईमा सफल नेपाली व्यवसायीको रुपमा चिनिन्छन्।मंगलबार मात्रै आरके शर्मालाई नै समर्थन गर्दै निर्वाचन लड्न ६ खुल्ला र एक युवा उपाध्यक्ष पद टुंगिएको थियो।

गैरआवासीय नेपाली माझ लोकप्रिय छवी बनाएका व्यक्तिहरुले शर्मालाई समर्थन गर्दै उमेदवारी सार्वजनिक गर्न थालेसँगै शर्मा एनआरएनए निर्वाचनमा बलियो बन्दै गएका छन्। शर्माले कर्मभूमि कतारबाट गतसाता २४ महिनामा २४ वटा बाचा सहित अध्यक्षमा आफ्नो योजना सहित उम्मेदवारी सार्वजनिक गरेका थिए।

शर्माको बाचामा बैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षा कोषको कार्यक्रममा जोड्न जनचेतनाको कार्यक्रम सञ्चालन गर्ने,समयसापेक्ष ज्ञान, दक्षता तथा सिपको कमीका कारण न्यून तलबमा काम गर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न नेपाल सरकार तथा निजी क्षेत्रसंग सहकार्य गरी अविलम्ब आवश्यक प्रशिक्षण कार्यक्रम अगाडि बढाइने जस्ता प्रतिबद्धता उनले आफ्नो बाचापत्रमा समेटेका छन्।

यस्तै श्रमिकको आर्थिक स्थिति सुधार्नका लागि काम गर्ने योजना पनि शर्माले आफ्नो बाचापत्रमा समेटेका छन्।गैरआवासीय नेपाली अभियन्तासँग छलफल गर्न निर्वाचनको माहोल बनाउन शर्मा ४० देशको भ्रमण गरेर सोमबार नेपाल आइपुगेका थिए। गैरआवासीय नेपाली संघको ११ औं विश्वसम्मेलन असोज ३० देखि काठमाडौंमा हुँदैछ।