काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ११ अक्टोवर अर्थात ‘एनआरएनए डे’(गैरआवासीय नेपाली दिवस) विषेश रुपले मनाएको छ। सन् २००३ मा नेपालीका लागि नेपाली भन्ने मूल नारासहित स्थापना भएको गैरआवासीय नेपाली संघको विश्वका ८६ देशमा शाखा रहेको छ। दिवसको अवसरमा एनआरएनए केन्द्रीय कार्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरियो। यस्तै विभिन्न एनसीसीहरुले पनि अक्टोबर ११ को अवसरमा कार्यक्रमहरु गरेका छन् ।
दिवसको अवसरमा बुधबार बिहान एनआरएनए अभियन्ताहरुले स्वयम्भुनाथ मन्दिरमा पुजाआजा गरेका छन्। यस्तै पशुपतिनाथ मन्दिरमा पनि पूजाआजा गरेका एनआरएनए अभियन्ताहरुले केन्द्रीय कार्यालय बालुवाटारमा रक्तदान कार्यक्रम पनि गरेका थिए। सो क्रममा दर्जनौँ रक्तदाताहरुले रक्तदान गरेका थिए। बुधबारकै एनआरएनए फाउन्डेशनको साधारणसभा पनि सम्पन्न भएको छ। यस्तै भवन कृषि अवार्ड समारोहका साथसाथै नवौँ राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीहरुलाई सम्मान पनि गरियो।
यस्तै काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच एनआरएनए जापानले विभिन्न विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ।‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ स्थापित एनआरएनए अभियानले बुधबारदेखि २० औँ वर्ष पूरा गरेको हो। विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप,प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ एनआरएनए स्थापना भएको थियो ।
एनआरएनएले स्थापनाको २० औँ वर्षगाँठ मनाइरहँदा स्थापना कालदेखिका माग तथा मुद्दाहरु क्रमशः सम्बोधन हुने क्रम जारी रहेको जनाएको छ।यसबीचमा सबैभन्दा ठूलो उपलब्धी अर्थात विदेशमा बस्ने नेपालीका लागि सरकारले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने कानूनी बाटो खोलेको संघको भनाइ छ। यस अधिकारसँगै विदेशमा रहेका नेपालीमा राष्ट्रप्रतिको दायित्व र जिम्मेवारी बढेको महसुस भएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकालदेखि नै माग गर्दै आएको श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेट्नुपर्ने माग सरकारले सम्बोधन गरेको छ’, संघको भनाइ छ, ‘हजारे योजनाको अवधारणामा सुत्रपात भएको योजनालाई संघकै पहलमा सरकारले वैदेशिक रोजगारीमा गएका र विदेशमा स्वरोजगारमा रहेकालाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गर्न थालेको छ।’
अदालतको आदेशले विदेशमा बस्ने नेपालीको मताधिकारको अधिकार सुनिश्चित गर्नुका साथै निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको मताधिकारको अधिकार कार्यान्वयनको लागि ऐन निर्माण लगायतका सम्पूर्ण प्रक्रिया अघि बढाइसकेको पनि संघको विज्ञप्तिमा उल्लेख छ। यस्तै धितोपत्रमा विदेशबाटै कारोबार गर्ने प्रक्रिया सुरु भएको छ।
‘विश्वव्यापीकरण र डिजिटल प्रविधिले हटाएको भौगोलिक सीमा, बाहिर बस्ने नेपालीका हकमा पनि क्रमशः मेटिँदै गएको छ। छरिएर आउने पूँजी संगठित रुपमा भित्रन थालेको छ। लगानी भित्र्याउन देखा परेका कानूनी व्यवधान क्रमशः सम्बोधन हुने क्रम जारी छ’संघको भनाइ छ। वैदेशिक लगानीका सम्भावनाहरु सीमित भएको र आन्तरिक स्रोत साधनको सिमितताबीच रहेको नेपालका लागि गैरआवासीय नेपाली समुदायको उपस्थिति आर्थिक खाडल पूर्तिका लागि नौलो अवसर बन्न सक्ने देखिएको पनि संघको भनाइ छ ।
‘नेपालका जलविद्युत, बैकिङ, पर्यटन, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा गैरआवासीय नेपालीको उल्लेख्य लगानी भित्रिरहेको छ । विदेशमा रहेका नेपालीलाई एउटै छातामा समेट्ने उद्देश्यले स्थापनाको दुई दशकको यस अवधिमा विदेशमा रहेका ठूला लगानीकर्ता मात्रै होइन साना तथा मझौला लगानीकर्ताहरु पनि देशमा लगानी भित्र्याउन लागि परेका छन् । सरकारले गैरआवासीय नेपालीलाई विदेशी मुद्रामै पूर्ण रुपले लगानी फिर्ता गर्न सहिने गरी मुद्दती र बचत निक्षेपमा खाता खोल्ने सुविधा समेत प्रदान गरेको छ’, संघको विज्ञप्तिमा उल्लेख छ ।
दुई दशकको अवधिलाई नियाल्दा गैरआवासीय नेपालीहरुले विकास र पूर्वाधार निर्माणका क्षेत्रमा पनि आफ्नो उपस्थिति बढाउँदै लगेको अध्यक्ष बद्री केसीले बताए । एनआरएनए डेसम्बन्धी कार्यक्रममा पूर्वअध्यक्षहरुका साथै वर्गमान अध्यक्षहरुसहित पदाधिकारी र अभियन्ताहरुको सहभागिता थियो ।