काठमाडौं। गैर आवासीय नेपाली संघ(एनआरएनए)को आसन्न ११ औ महाधिवेशनमा हुने निवार्चनबाट आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन हुँदैछ। यसका लागी एनआरएनए अभियानमा सक्रिय विश्वभरका देशहरुमा बसोबास गर्ने नेपालीहरुले आ आफ्नो इच्छा लागेको पदमा उमेदवारी सार्वजनिक गरेका छन् ।
निर्वाचनको मिति नजिकिँदै गर्दा उमेदवारी सार्वजनिक गरेका अधिकांश उमेदवारले उमेदवारीसँगै आफ्नो पक्षमा चुनावी माहोल बनाउन र आफ्नो पक्षमा मतदाता केन्द्रित गर्न तल्लिन छन् भने केहि उमेदवारले चुनावी माहौल र रौनकको अन्तिम मौका कुरिरहेका छन् । यसले गर्दा यतिबेला गैर आवासीयहरुमा चुनावी रौनक ह्वात्तै बढेको छ ।
एनआरएनए निर्वाचनलाई विगतदेखिकै इतिहास हेर्नेहो भने पनि भेगिय तथा क्षेत्रिय निर्वाचन हुने गरेको इतिहास साक्षि छ । सोहि अनुसार यसपटकको निर्वाचनमा पनि उमेदवारहरु सोहि किसिमले लागी परेका छन् जसकारण अधिकांश उमेदवारहरु प्यानल बनाएर निर्वाचनको मैदानमा होमिएका छन् ।
यसरी हेर्दा प्यानल र गुटगत उमेदवारीमा पनि धेरै नेपालीहरु बसोबास गर्ने अमेरिका, अष्ट्रेलिया, बेलायत, क्यानडा, जापान लगाएतका देशहरुबाट धेरै जनाको उमेदवारी सार्वजनिक भएको देखिन्छ। त्यसमा पनिधेरै नेपालीहरुको बसोबास रहेको देश अमेरिका शिर्ष स्थानमा छ ।
अमेरिकाबाट योपटक अहिलेसम्म झण्डै १ दर्जन उमेदवारहरुले विभिन्न पदमा उमेदवारी सार्वजनिक गरेका छन्। आगामी नेतृत्वका लागि अमेरिकाबाट अध्यक्ष, उपाध्यक्ष, महासचिवदेखि विभिन्न पदहरुमा उम्मेदवारी सार्वजनिक गरेर उल्लेख्य रुपमा उमेदवारहरु मैदानमा छन्।
यसले अमेरिकाबाटै पनि असन्तुष्टीसँगसँगै प्रतिसोध पनि बढेको पाइन्छ। अर्कातिर अन्य तुलनात्मक रुपले धेरै नेपाली बसोबास गर्ने देशहरुका मतदाताहरुले पनि हरेक पटक अमेरिकामै धेरै पदहरुको नेतृत्व किन जान्छ ? र किन हामीहरुले समर्थन गरिरहने ? भन्नेतर्फ बहस सुरु गरेका मात्रै छैनन् व्यापक असन्तुष्टि पनि व्यक्त गर्न थालेका छन्। यद्यपी यो प्रश्न विगतमा अष्ट्रेलियाका महाधिवेशन प्रतिनिधिले गम्भिरताका साथ उठाएको गहन प्रश्न समेत पनि हो।
अमेरिकाबाट अहिलेसम्म अध्यक्ष पदमा रविना थापा, उपाध्यक्षमा डाक्टर केशव पौडेल, सुनिल शाह, राजन त्रिपाठी, महासचिवमा गौरीराज जोशी, बुद्धि सुवेदी, उपमहासचिवमा प्रमोद सिटौला, सचिवमा राम पोखरेल, कृष्णजिवी पन्त, प्रकाश सापकोटा, महिला सहकोषाध्यक्षमा तृष्णा शर्मा लगायतले उम्मेदवारी घोषणा गरिसकेका छन्।
संघको विधानअनुसार अध्यक्ष १, खुला उपाध्यक्ष ६ ,महिला १ र युवा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव २ र सचिव ३ पद छन्। यसपटकको कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव कोषाध्यक्ष लगायतका पदमा अमेरिकाबाट आकांक्षीहरु देखिसकेका छन्। यी उमेदवारहरुलाई आईसिसिको ठूला पदमा बसेर काम गर्दै गर्दा पनि पदाधिकारीहरुका बिचमा एनआरएनएको आईसीसी र एनसीसीलाई कसरी अगाडी वढाउने, विदेशमा बस्ने नेपालीहरुका मुद्दा कसरी उठाउने भन्ने विषयमा सार्वजनिक छलफल नै नभएको भन्दै आलोचना भैरहेको छ।
एनआरएनए विभाजनसहित विवादित अमेरिकालाई विवादमुक्त बनाउनुको सट्टा झन् छताछुल्ल बनाएको आरोप छ।
अहिले उम्मेदवारी दिने विषयमासमेत छलफल र परामर्श नै नगरी को भन्दा को कम भन्ने शैलीमा उम्मेदवारी सार्वजनिक गरि प्रचारबाजीमा जुटिरहेको टिप्पणी छ। यसमा एनआरएनए, एनसीसी अमेरिकाले पनि कुनै धारणा सार्वजनिक नगरेको र सहजिकरण नगरेको आरोप लागेको छ। त्यतीमात्रै नभएर निर्वाचनमा अमेरिकाका डेलिगेट्स्हरुको मत कता जान्छ र के हुन्छ भन्ने यकिनसमेत छैन।
अमेरकाका डेलिगेटहरु समेत एकआपसमा आँफै पनि गुट उपगुटमा विभाजित भैरहेका छन्। जसकारण अमेरिकाबाट प्रतिनिधीत्व गर्ने उमेदवारहरुलाई आफ्नै देशबाट मत बिभाजन हुने सम्भावना बढी हुँदा गम्भिर असर पर्न सक्ने देखिएको छ।