“श्रमिकका मुद्दा नै मेरो पहिलो प्राथमिकता”: आरके शर्मा, अध्यक्ष प्रत्याशी एनआरएनए

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष पदका प्रत्याशी राजेन्द्रकुमार(आरके) शर्माले श्रमिकका मुद्दा नै आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् । आसन्न ११ औं महाधिवेशन तथा निर्वाचनका लागी अध्यक्ष पदमा उमेदवारी घोषणा गरेसँगै चुनावी अभियानस्वरुप कुवेत पुगेका शर्माले एनसीसी कुवेतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै विगतमा पछाडि पर्ने गरेका मुद्दाहरुलाई आँफुले प्रमुख एजेण्डा बनाएको बताए ।

वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले विगतमा हरेक पटक एनआरएनएकै नेताहरुबाट मध्यपूर्व र श्रमिकका मुद्दाहरू ओझेलमा पारिने गरेको तर अहिले हरेक ठाँउमा प्राथमिकताका साथ उठ्न थालेको भन्दै शर्माले भने, “मध्यपूर्व र श्रमिकका मुद्दाहरू पहिला हाम्रा नेताहरूले प्राथमिकतालाई खासै प्राथमिकतामा नपर्ने स्थिति थियो,अहिले सबैले श्रमिकका मुद्दालाई प्राथमिकता दिएका छन्,यो मध्यपूर्व र श्रमिकको लागि राम्रो विषय हो।”

शर्माले आफूले २४ महिनामा २४ बाचा सहित उम्मेदवारी घोषणा गरेको र त्यसमा गैरआवासीय नेपाली अभियानलाई एकीकृत गराउने विषय राखेको भन्दै गैरआवासीय अभियान फुटेर नभएर एकीकृत भएर अगाडि बढाउनुपर्ने बताए । मध्यपूर्वलाई भोट बैंकको रूपमा मात्र नहेर्न र निर्वाचनको बेला मात्र यहाँ सम्झने वातावरण गैरआवासीय अभियानमा हुन नहुँने भनाइ शर्माको छ ।

कतारलाई कर्मभुमि बनाएर गैर आवासीय नेपाली संघ एनआरएनए अभियानमा सक्रिय शर्मा आसन्न निर्वाचनको मिति नजिकिएसँगै चुनावी अभियानस्वरुप विश्व दौडाहामा व्यस्त बनेका छन् ।