काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)को उपमहासचिव पदका उम्मेदवार प्रविन गुरुङ्ले विदेशमा रहेका नेपालीहरूका समस्या समाधानका उपाए खोजी गरिरहेको बताएका छन्। बर्तमान सचिवसमेत रहेका गुरुङ् विश्वभर रहेका नेपालीले भोग्नु परेका समस्यालाई एनआरएनएले कसरी समाधान गर्न सक्छ भनेर उपायहरूको खोजी तथा अध्ययन गरिरहेको बताएका हुन्।
विगत लामो समयदेखी कतारलाई कर्मभूमि बनाएका गुरुङ एनआरएनएमा सुरुवाति चरणदेखी नै सक्रिय एवं लोकप्रिय युवा नेतृत्वका रुपमा परिचित छन्। उपमहासचिव पदमा उम्मेदवारी दिदै ११ बुँदे घोषणापत्र समेत जारी गरिसकेका छन्। घोषणापत्रमा एनआरएनएलाई गैर राजनीतिक संस्था र सबै विश्वका नेपालीहरूका आशा र भरोसाको संस्था बनाउने विषयलाई मुख्य जोड दिएका छन्।
पछिल्लो समय एनआरएनएमा देखिएको समस्याको जड राजनीतिक भएको उनको बुझाई रहेको छ। संघलाई राजनीतिमुक्त संस्था बनाउने र विश्वका नेपालीहरूको साझा तथा भरोसा गर्न लायक संस्था बनाउने उनको प्रमुख उद्देश्य रहेको छ।
संघ सक्रिय भएको अवस्थामा देशलाई समेत ठुलो योगदान गर्न सकिने भन्दै गैरआवासीय नेपालीहरुले देशका विभिन्न क्षेत्रमा गरेको लगानी,मुलुकलाई विभिन्न समयमा विपद पर्दा गरेको सहयोगले देशको आर्थीक उन्नतीमा पनि ठुलो योगदान गरेकोले यी सहयोगलाई संघले अझै संगठित रूपमा बढाएर लैजानुपर्ने उनले बताए।
गुरुङ एनआरएनए एनसीसी कतारको सदस्य हुँदै सन २०१५–१७ का उपाध्यक्ष,सन २०१७–१९ मा मिडिलिष्टको डीआरसी,सन २०१९–२१को आरसी र २०२१–२३ आईसीसी सचिव छन्। सोही क्रममा २०२३–२५ कार्यकालको नयाँ कार्यसमिति चयन प्रक्रियामा पनि अहोरात्र लाग्दै उपमहासचिव उम्मेदवार उमेदवारी दिएका हुन्।