एनआरएनए उपाध्यक्ष उमेदवार शर्माका ९ बुँदे एजेण्डा सार्वजनिक (विज्ञप्तिसहित)

काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्ष पदमा डा. हेम राज शर्माले पुनः उम्मेदवारी दिएका छन् । वर्तमान उपाध्यक्ष समेत रहेका डा. शर्माले आसन्न ११ औं महाधिवेसन तथा निर्वाचनबाट चयन हुने नयाँ नेतृत्वमा पनि पुनः उपाध्यक्ष पदमै दोहोरिएर काम गर्ने इच्छा व्यक्त गर्दै उमेदवारी दिएका हुन् ।

यसअघि संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका शर्माले एक विज्ञप्ति जारी गर्दै एनआरएनए अभियानसँगै समग्र गैरआवसीय नेपालीको हितका लागी आम सहमतिको मार्गप्रशस्त गर्न पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएको बताएका छन् ।

बाग्लुङमा मध्यम परिवारमा जन्मिएर अबसरको खोजिमा विभिन्न देशहरुमा पुग्ने क्रममा शर्माले सुरुमा जापानबाट एनआरएनए अभियानमा सक्रियता सुरु गरेका हुन् । सुरुवाति चरणबाटै एनआरएनए अभियानमा सक्रिय शर्माले संघको सदस्य,पूर्वप्रवक्ता तथा महासचिव हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालीसकेका छन् । डा.शर्माले आफ्नो उमेदवारीसँगै ९ बुँदे एजेण्डा पनि सार्वजनिक गरेका छन् ।
यस्ता छन् उनका ९ बुँदे एजेण्डा:
१,सबैको एनआरएनए
२,स्मार्ट एनआरएनए
३,परिणाममुखी एनआरएनए
४,दिगो एनआरएनए
५,सबल र बहुआयमिक एनआरएनए
६,ज्ञान, सिप र नवप्रवर्धनका लागी एनआरएनए
७,उत्तरदायी र पारदर्शी एनारएनए
८,एनआरएनका लागी एनआरएन
९, नेपाल सरकारको साझेदार एनआरएनए

यस्तै आफ्नो उमेदवारीसँगै शर्माले सार्वजनिक गरेको विज्ञप्तिमा प्रविधिको प्रयोग गरी संस्थाको रुपान्तरण र सबैको साझा, सबल, र स्मार्ट एनआरएनए निर्माण गर्ने अभियानलाई थप सशक्त र प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । शर्माले संस्थालाई रिब्राण्डिङ गर्ने स्पष्ट मार्गचित्रसहित प्रतिनिधि समक्ष आउने बताएका छन् ।

यस्तो छ शर्माले जारी गरेको विज्ञप्तिः

आदरणीय गैरआवासीय नेपाली दाजु भाई तथा दिदी बहिनीहरू,
आगामी अक्टोबरको आसन्न गैरआवासीय नेपाली संघको निर्वाचनमा मेरो उम्मेदवारीबारे यहाँहरुले देखाउनु भएको चासो प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
राष्ट्रिय समन्वय परिषद्को महासचिव, अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य, प्रवक्ता, महासचिव हुँदै अहिले उपाध्यक्षको जिम्मेवारी सम्हालिरहँदा तपाईहरुले मबाट राख्ने अपेक्षा, मप्रतिको चासो स्वभाविक नै हो । यस अवधिमा मेरो कामको समिक्षा र मूल्यांकन तथा मेरो क्षमताको कदर गर्दै अबको नेतृत्व मैले लिनु पर्छ भन्ने यहाँहरुको सुझावलाई म हृदयदेखि नै सम्मान गर्छु र मप्रतिको विश्वास र भरोसाप्रति कृतज्ञ छु ।

यहाँहरुको अपेक्षा अनुसार म संस्थाको नेतृत्व लिन सक्षम पनि छु। तर झण्डै १८ वर्षदेखि एनआरएन अभियान मेरो लागि सदैव एक पवित्र अभियानकै रुपमा रहँदै आएको छ। संस्थालाई जहिले पनि जोडेर राख्नुपर्छ र यो पवित्र अभियान जीवन्त बनाउनुपर्छ भन्नेमा म अडिग छु। वर्तमान अध्यक्षज्यूहरु र केही पदाधिकारी साथीहरुले पनि अध्यक्ष पदमा उम्मेदवारी अघि सारेको अहिलेको अवस्थामा सहमतिबाटै नेतृत्व चयन गर्न सक्यो भने यस महान अभियान र समग्र गैरआवसीय नेपालीको हितमा हुने विश्वास लिँदै आम सहमतिको लागि मार्गप्रशस्त गर्न पुनःउपाध्यक्ष पदमा नै उम्मेदवारी दिने निचोडमा पुगेको छु।

मलाई थाहा छ, मेरो यो निर्णयले पक्कै पनि मेरा शुभचिन्तकहरुलाई निराश बनाउने छ । तर एनआरएनए जस्तो सामाजिक संस्थामा तछाड–मछाड गरेर नेतृत्व लिनु भन्दा धैर्यताका साथ आपसी समझदारी, सहकार्य र सहमतिले अगाडि बढ्नु नै उपयुक्त हुन्छ भन्ने विगतबाट सिकेको पाठ हामी माझ छ ।
अतः अध्यक्ष पदका अन्य आकांक्षी साथीहरुलाई पनि सहमतिमा नेतृत्व चयन गर्ने वातावरण बनाउनु हुन अनुरोध गर्दछु ।
प्रविधिको प्रयोग गरी संस्थाको रुपान्तरण र सबैको साझा, सबल, र स्मार्ट एनआरएनए निर्माण गर्ने मेरो अभियानलाई थप सशक्त र प्रभावकारी रुपमा अघि बढाउने छु । संस्थालाई रिब्राण्डिङ गर्ने स्पष्ट मार्गचित्रसहित यहाँहरु समक्ष छिट्टै आउनेछु र यहाँहरुको सहयोग अपेक्षा गरेको छु ।

डा हेम राज शर्मा
उपाध्यक्ष, गैरआवासीय नेपाली संघ
२७ सेप्टेम्बर २०२३
लिभरपुल, युके