डेनमार्क । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष पदका प्रत्यासी राजेन्द्र कुमार (आर.के.) शर्माले संघको गरिमा बढ्ने गरी आगामी कार्यकालमा सफलतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
डेनमार्कको नेपाली समुदाय तथा एनआरएनए महाधिवेशनका प्रतिनिधि (डेलिगेट्स)हरुसँग कोपनहेगनमा अन्तरक्रिया कार्यक्रम गर्दै अध्यक्षका उम्मेद्वार शर्माले आफूले नेतृत्व गर्ने अवसर पाएमा संस्थालाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे।
उनले एनआरएनए साझा र सबैको संस्था हो भन्ने महसूस गराउन पर्ने समय आएको भन्दै यसपाली मध्यपूर्वले नेतृत्व गर्न पाउनुपर्नेमा जोड़ दिए । ‘युरोप, अमेरिका, अष्ट्रेलिया, जापान सबै क्षेत्रबाट एनआरएनएको नेतृत्व भैसक्यो अब मध्यपूर्वको पालो आएको छ, यसमा सहमति गरौं । सबै डेलिगेट्सले यसपाली अनुमोदन गरेर सबैको साझा एनआरएनए बनाउनु हुनेछ भन्ने अपेक्षा गरेको छु,’ शर्माले भने ।
‘एनआरएनएलाई परदेशका सबै नेपालीको साझा र एकताबद्ध बनाएर गरिमा बढ्ने गरि काम गर्नको लागि नेतृत्वको मैदानमा छु’, डेलिगेट्स समक्ष शर्माले भने, ‘मलाई एनआरएनएको नेतृत्व गर्ने अवसर दिनुहोस् ।’
एनआरएनएका वर्तमान उपाध्यक्ष रहेका शर्मा गत जुलाई महिनामा पनि डेनमार्क पुगेर एनआरएनहरुबीच अन्तरक्रिया कार्यक्रम गरेका थिए ।
एनआरएनएको १७ अक्टोबर काठमाडौंमा महाधिवेशन सुरु हुँदैछ । नेतृत्व चयनका लागि भौतिक र अनलाइन मार्फÞत मतदान हुनेछ । महाधिवेशनका लागि करिब ४२ सय प्रतिनिधिहरु (डेलिगेट्स) छनोट भएका छन् ।
केहि दिन अघि कर्मभूमि कतारमा विशाल कार्यक्रम गरि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेर डेलिगेट्स भेट्न युरोपको भ्रमणमा निस्केका शर्माले बोलेर भन्दा पनि काम गरेर देखाउनु पर्ने आवश्यकता औंल्याए ।
उम्मेदवारी घोषणा गर्दै २४ महिनामा गर्ने मुख्य २४ योजना बारेमा सो कार्यक्रममा उनले थप ब्याख्या गरेका थिए । शर्माले एनआरएनए मार्फÞत सरकारसंग समन्वय गरेर नेपालमा ठूलो मात्रामा उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने लगायतका योजना सुनाए ।