काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी ११ औं महाधिवेशन तथा निर्वाचनमा कोषाध्यक्ष पदमा युएई निवासी ठाकुर प्रसाद ढुंगानाले उम्मेद्वारी दिने भएका छन् ।
एनआरएनए यूएईका निवर्तमान अध्यक्ष एवं वर्तमान प्रमुख संरक्षक ढुंगानाले कोषाध्यक्ष पदमा उम्मेद्वारी दिन लागेका हुन् । एनआरएनए यूएईको अधिवेशन सफलतापुर्वक सम्पन्न गरेका ढुंगानाले आफुले एनआरएन अभियानमा गरेका काम र अनुभवलाई थप उचाईमा पु¥याउनका लागि कोषाध्यक्ष पदमा दाबी गरेको बताए ।
एनआरएनए अभियानमा लागेर ‘अतिथि देवो भव’ लगायत अन्य धेरै कार्यक्रममा सक्रिय सहभागी भएका ढुंगानाले “परिवर्तनको लागि एउटा भोट” भन्दै सबै एनआरएन प्रतिनिधिहरुसँग मतदानका लागि अपिल गरेका छन् । ढुंगानाले एनआरएनएमा आर्थिक पारदर्शिता र श्रमिकमैत्री कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राख्ने बताएका छन् ।
उनले भनेका छन –‘एनआरएनए यूएईको अध्यक्ष भएर गरेको काम र आइसीसीसँग नजिक भएर आफुलाई अगाडि बढाइरहँदा सबैको सल्लाह र सुझाव अनुसार आगामी २०२३–२५ कार्यकालका लागि कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु ।’
दुई कार्यकाल आइसिसि सदस्य र एक कार्यकाल एनआरएनए युएईको अध्यक्ष भएर एनआरएनए अभियानमा निखारिएका ढुंगाना विश्वमा सबै गैरआवासीय नेपाली माझ परिचित छन् ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ५ खाल्टे घर भई हाल युएईको आबुधावीमा व्यवसाय गरिरहेका ढुंगाना सन् २०११ सालदेखि एनआरएनए अभियानमा सक्रिय छन् । व्यवसाय संगै उनले परदेशमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीको दुःख सुखमा साथ दिंदै आइरहेका छन् । सफल पर्यटन व्यवसायीको छवी बनाएका ढुंगाना आर्थिक व्यवस्थापन, श्रोत परिचालन, पारदर्शी आर्थिक प्रणाली तथा लेखा सम्बन्धि बिषयमा गहिरो ज्ञान राख्दछन् ।
सन् २०१७–०१९ र २०१९–०२१ मा आईसिसि सदस्य रहेर काम गरिसकेका ढुंगानाले २०१७–०१९ मा नेपालको पर्यटन प्रबद्र्धन गर्न ‘अतिथि देवो भव’ अभियानको समेत नेतृत्व गरेका थिए ।
एनसीसी युएईको समस्या समाधान गर्न उनलाई अध्यक्ष बनाएर आईसिसिले पठाएको थिए । उनले सबै समस्याको समाधान गरी नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गराउन उनी सफल भएका थिए । युरोप अस्ट्रेलिया, अमेरिका डायस्पोराका आवश्यकता, गैर आवासीय नागरिकता र नेपालको विकासमा गैर आवासीय नेपालीहरूले खेल्नुपर्ने भूमिका सुनिश्चित गर्न पहलकदमी लिने ढुंगानाले प्रतिबद्धता समेत जनाएका छन् ।