काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का कार्यकारी अध्यक्ष एवं आगामी कार्यकालका लागी अध्यक्ष पदका उमेदवार डा.बद्री केसी इराक पुगेका छन्। नेपाल सरकारले इराकमा १२ जना नेपालीको सामूहिक हत्या भएपछि इराकलाई कालोसूचीमा राखेको थियो । तर, अवैध बाटोबाट हजारौँ नेपाली रोजगारीका लागि त्यहाँ पुगेका छन्। तिनै नेपालीहरुको अवस्था बुझ्न अध्यक्ष केसी इराकको कुर्दिस्तान पुगेका हुन्।
कुर्दिस्तानमा केहि समय अगाडीमात्रै अध्यक्ष केसीको पहलमा एनआरएनए गठन भएको छ। अहिले एनआरएनए इराकको नेतृत्व विनोद श्रेष्ठले गरिरहेका छन्। भर्चुअल माध्यमबाट शाखा विस्तार गरिएपछि पहिलोपटक डा. केसी इराक पुगेका हुन्।
कुर्दिस्तान इराकको प्रान्तीय सरकार हो। कुर्दिस्तानमा मात्र झण्डै २० हजार नेपाली कार्यरत रहेको अनुमान छ। कुर्दिस्तानको सुलेमानी पुगेर केसीले त्यहाँ कार्यरत नेपालीका समस्याका विषयमा चासो राखेका छन्।
भारत, यूएई, टर्की, थाइल्यान्ड हुँदै इराक पुग्ने नेपालीहरुको सङ्ख्या दिनानुदिन बढ्दो छ। इराकमा कति नेपाली छन् भन्ने आधिकारिक तथ्याङ्क सरकारसँग छैन। इराकमा नेपाली दूतावास छैन। जसले गर्दा यहाँ समस्यामा परेका नेपालीलाई गुनासो सम्बोधनको निकाय छैन ।
इराक पुगेका डा. केसीलाई सुलेमानीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा एनसीसी इराकका प्रतिनिधिले स्वागत गरेका थिए। केसी यही अक्टोबरमा गर्न लागीएको ११ औं महाधिवेशन तथा विश्व सम्मेलनका लागी अध्यक्ष पदमा उमेदवारी दिएका छन्। सोहीअनुसार चुनावी अभियानस्वरुप केसी इराक पुगेका हुन् ।