काठमाडौँ। गैरआवासीय नेपाली सङ्घको एनआरएन फाउन्डेसनको अध्यक्षमा राम प्रताप थापा नियुक्त भएका छन्। गैरआवासीय नेपाली सङ्घले आफ्नो स्थापनाकाल देखि परिकल्पना गरेको एनआरएन फाउन्डेसन २०७८ आश्विन ४ मा नेपालको कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरि सुरु गरिएको थियो।
फाउन्डेसनको बैठकले सङ्घका पूर्व प्रमुख संरक्षक थापालाई अध्यक्षमा र सङ्घका संस्थापक सचिव चिरञ्जीवी ढकाल तथा विष्णुमाया परियारलाई सदस्यमा मनोनयन गरिएको छ।
नवनियुक्त अध्यक्ष थापाले भने,’एनआरएनएसँग समन्वय गरी पारदर्शी र प्रभावकारी किसिमले नेपालमा कल्याणकारी कार्यहरू सम्पन्न गर्ने उद्देश्यले यो फाउन्डेसनको स्थापना गरिएको हो,अब छिट्टै विधान समितिको बैठक बसेर नीतिगत कुराहरू स्पष्ट पार्नेछौँ। ’
नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्यहरू सम्पन्न गर्ने अभिप्रायले स्थापित एनआरएन फाउन्डेसन एक व्यावसायिक, सीमित दायित्व भएको, गैर नाफामूलक, गैर राजनीतिक, तथा गैरसरकारी संस्थाको रूपमा रहने विधानमा उल्लेख छ।
’गत २० वर्षमा गैरआवासीय नेपालीहरूले संस्थागत तथा व्यक्तिगत रूपमा अरबौँ रुपियाँ बराबरको सहयोग नेपालमा गरेका छन्।आगामी दिनमा त्यस्तो सहयोगलाई अरू बढी योजनाबद्ध र प्रभावकारी बनाउन हामीले काम गर्नेछौँ’ नवनियुक्त सदस्य ढकालले भने।फाउन्डेसनका अध्यक्ष जीवा लामिछानेले कार्य व्यस्तताको कारण देखाउँदै राजीनामा दिएपछि थापालाई अध्यक्षमा नियुक्त गरिएको हो।
फाउन्डेसनका संस्थापक सदस्यहरूमा गैर आवासीय नेपाली सङ्घका पूर्व अध्यक्षहरू कुमार पन्त, जीवा लामिछाने, संस्थापक महासचिव भीम उदास, पूर्व सल्लाहकारहरू कुलचन्द्र गौतम र एकनाथ खतिवडा,नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौड्याल र अभिनेत्री मनिषा कोइराला रहेका छन्।