अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न ११ औँ महाधिवेशन नजिकिँदै गर्दा उम्मेद्वारका आकांक्षीहरुले आफ्नो पक्षमा समर्थन जुटाउन भेटघाट, छलफल तीव्र पारेका छन् ।
यसैसन्दर्भमा एनआरएनएको उपाध्यक्ष पदमा उम्मेद्वारी दिने तयारी गरिरहनुभएका अमेरिका निवासी डा. केशव पौडेलले अक्टोबर १ तारिख आईतबारका दिन एनआरएन टेक्सस च्याप्टरले आयोजना गरेको कार्यक्रममा मतदाताहरुसँग भेटघाट गरेका छन् ।
कार्यक्रममा डा. पौडेलले एनआरएनए, आइसिसीको आसन्न निर्वाचनमा सहमति र सहकार्य गरेर अघि बढ्न सबैलाई आव्हान गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै संघका वर्तमान महासचिव समेत रहेका पौडेलले सहमति, सहकार्य र सहअस्तित्वका लागि आफूले अध्यक्ष पदको आकांक्षा त्यागेर आगामी अध्यक्ष पदमा महेश श्रेष्ठलाई समर्थन गरेर बताउनुभयो ।
कार्यक्रममा बोल्दै उनले एनआरएनएको पहलमा नेपाल बाहिर रहेका नेपालीहरुले गैरआवासीय नागरिता र सामाजिक सुरक्षा प्राप्त गर्न सक्ने अवस्था आएकोमा खुशी व्यक्त गरे । नेपाल बाहिर रहेका नेपालीहरुले भावनात्मक रुपमा नेपाली भएर बाँचिराख्नु परेको दुखेसो पोख्दै पौडेलले नेपाली नै भएर बाँच्न पाउने आफूहरुको अधिकार रहेको जिकिर गरेका थिए । उनले एनआरएनएको अभियानअन्तर्गत अझै धेरै काम गर्न बाँकी नै रहेकाले त्यसका लागि सबै मिलेरै अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
विगतमा केही कमी कमजोरीहरु भएको स्वीकार गर्दै महासचिव पौडेलले अब ती कमी कमजोरीहरुलाई सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिए । निर्वाचनको प्रक्रिया सुरू भैसकेको भए तापनि सहमतिको सम्भावना अझै रहेको उनले जिकिर गरे ।
निर्वाचन समितिको कार्यतालिकाअनुसार यही आउँदो असोज ३० देखि कार्तिक ३ गतेसम्म अर्थात अक्टोबर १७ देखि २० तारिखसम्म नेपालको राजधानी काठमाडौंको सोल्टी होटलमा संघको ११औं महाधिवेशन हुँदैछ । अक्टोबर १९ तारिख बिहीबारका दिन निर्वाचन हुने कार्यक्रम छ ।