एनआरएनए उपाध्यक्षमा महासचिव शर्माले गरे उमेदवारी घोषणा(९ बुँदे प्रतिबद्धतासहित)

काठमाडौं।गैरआवासीय नेपाली संघ(एनआरएनए)को उपाध्यक्ष पदमा डा.हेमराज शर्माले उमेदवारी घोषणा गरेका छन्। एनआरएनएको आसन्न ११औं महाधिवेशन तथा विश्व सम्मेलनबाट चयन हुने नयाँ नेतृत्वको उपाध्यक्ष पदमा आफ्ना ९ बुँदे प्रतिबद्धताहरूसहित शर्माले औपचारीक उमेदवारी घोषणा गरेका हुन्।

वर्तमान महासचिवसमेत रहेका शर्माले आफ्ना प्रतिबद्धताहरुमा स्मार्ट एनआरएनएदेखी नेपाल सरकारको साझेदार सस्था बनाउने सम्मका प्रतिबद्धताहरु सार्वजनिक गरेका छन्।

यस्तै डा.शर्माले आँफु अघिल्लो महाधिवेशनमा महासचिवको उम्मेदवार हुदाँ गरेका प्रतिबद्धताहरू कार्यान्वयनको अवस्था रहेको दाबिसहित तिनै प्रतिबद्धता र अहिलेको विकसित स्थितिलाई ध्यानमा राखि एनआरएनएको रुपान्तरणको स्पष्ट मार्गचित्र कोरेको उल्लेख गरेका छन्।

यी हुन्,डा.हेमराज शर्माका चुनावी प्रतिबद्धताहरू,
१) सबैको एनआरएनए(NRNA for all):
महिला, युवा, वैदेशिक रोजगारमा गएका नेपाली,प्राज्ञिक वर्ग र दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरू सहित आम गैरआवासीय नेपालीहरूले अपनत्व महसुस गर्ने संस्थाको रूपमा संघलाई रूपान्तरण गर्ने।

२) स्मार्ट एनआरएनए(Smart NRNA):
गैरआवासीय नेपाली संघलाई अत्याधुनिक डिजिटल प्रविधियुक्त बनाउने। सम्पूर्ण पंजिकृत सदस्यहरूलाई अनलाइनबाट मतदानको व्यवस्था गर्ने।स्मार्ट एनआरएनए एप्सबाट सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई जोड्ने।

३) परिणाममुखी एनआरएनए(Result-oriented NRNA):
गैरआवासीय नेपाली संघका कार्यक्रमहरू परिणाममुखी बनाउन अल्पकालीन र दिर्घकालीन नीति तथा कार्ययोजना बनाउने।

४) दिगो एनआरएनए(Sustainable NRNA):
सचिवालय संचालन र परियोजनाका लागि सदस्याता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नुपर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि प्रविधिमा आधारित वैकल्पिक स्रोतको पहिचान गर्ने तथा एनआरएनए फाउन्डेसन मार्फत युएन अन्तर्गतका संस्था र अन्तर्राष्ट्रिय परोपकारी संस्थासँग सहकार्य गर्ने।

५) सबल र बहुआयामिक एनआरएनए (Strong and multidimensional NRNA):
गैरआवासीय नेपाली संघको दायारा बढाउँदै अन्तर्राष्ट्रियस्तरको बहुआयामिक संस्थामा विकास गरी संघलाई रिब्रान्डिङ गर्ने। सिमा समस्या, भुमण्डलीकरण (Globalization) र जलवायु परिवर्तन (Global warming)जस्ता नेपाललाई प्रत्यक्ष नकारात्मक असर पार्दै आएका बिषय अन्तर्राष्ट्रिय मंचमा पुराउन सेतुको रूपमा काम गर्ने।

६) ज्ञान, सीप र नवप्रवर्धनका लागि एनआरएनए (NRNA for skill, knowledge and innovation):
पेशागत र विज्ञहरूलाई संघमा समेट्न भौगोलिक सीमा बिनाको ‘Professional Academic Council (PCC)’ को गठन गर्न विधानमा व्यवस्था गर्ने (यसले राष्ट्रिय समन्वय परिषदले जस्तै स्वायत्त भएर काम गर्नेछ). NRNA Policy Institute लाई सुचारू गर्ने।

७) उत्तरदायी र पारदर्शी एनआरएनए (Accountable and transparent NRNA):
गैरआवासीय नेपाली संघका पदाधिकारीहरूलाई संघका सदस्यप्रति उत्तरदायी बनाउन र उच्च आचरण कायम गर्न वैधानिक व्यवस्था गर्ने। संघको निर्वाचनलाई मर्यादित र मितव्ययी बनाउने। आर्थिक पारदर्शिता कायम गर्ने। अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनले राष्ट्रिय समन्वय परिषदलाई असर नगर्ने खालको निर्वाचन पद्दति अवलम्बन गर्ने।

८) एनआरएनका लागि एनआरएन (For NRN By NRN):
गैरआवासीय नेपाली समुदायसँग जोडिएका विषयहरू(सामाजिक सुरक्षाकोष, श्रमिक समस्या,नागरिकता, सम्पत्ति अधिकार,नेपालको आम निर्वाचनमा विदेशबाट मतदान,विद्यार्थीका समस्या, दोहोरो कर प्रणाली, पुर्वगोर्खा सैनिकको अधिकार, नेपालीभाषी समुदायको सामिप्यता आदि)मा पैरवी गर्ने।

९) नेपाल सरकारको साझेदार एनआरएनए (Nepal Government Partner NRNA):
नेपालको समृद्धिको लागि सरकार र निजी क्षेत्रसँग साझेदारी गर्ने।