थप जिम्मेवारी पुरा गर्न स्मार्ट एनआरएनएको परिकल्पनाकार जोशी पुनः महासचिवमा उठ्दै

– शुकदेव चापागाईं /

काठमाडौं । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसिसी) को आसन्न ११ औं महाधिवेशनमा हुन लागेको निर्वाचनमा अमेरिका निवासी गौरी राज जोशीले पुनः महासचिव पदमा उम्मेद्वारी दिन लागेका छन् ।

गैरआवासीय नेपाली संघमा ‘स्मार्ट’ एनआरएनएको अवधारणा स्थापित गराउने व्यक्ति भनेर चिनिएका जोशीले संघको आसन्न निर्वाचनमा आफूलाई महासचिवको उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् ।
जोशीसँग महासचिवमा प्रतिष्पर्धा गर्न बुद्धि सागर सुवेदीले पनि अमेरिकाबाटै आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यसरी हेर्दा यसपटकको महासचिवको प्रतिष्पर्धा एकै क्षेत्र (अमेरिका) बाट हुने देखिन्छ ।

बोलेर भन्दा काम गरेर देखाउनुपर्छ भन्ने मान्यता बोकेका जोशी संघले दिएका हरेक जिम्मेवारीलाई पूरा समय दिएर सम्पन्न गरेको दाबी गर्छन् । “अब अर्को मोड, अर्कै उचाइ, एनआरएनलाई कमजोर हुने छुट, अब छैन” भन्दै महासचिवका प्रत्यासी जोशी चुनावी दौडमा होमिएका छन् ।
पेशाले आइटी इन्जिनियर रहेका जोशीले आफ्नो लगन र परिश्रमले अमेरिका जस्तो मुलुकमा आइटी क्षेत्रमा राम्रो ब्यवसाय गरिरहेका छन् । गैरआवासीय नेपाली संघको एक महत्वपूर्ण परियोजना मोबाइल ब्लड ब्याङ्क अवधारणामा पनि काम गरेका जोशी नेपालमा यस परियोजनाबाट दुर्घटनामा परेका अनगिन्ती घाइतेहरू र अपर्झट सर्जरी गर्नुपर्ने बिरामीहरूको ज्यान बचाउन निकै मद्दत पुगेको बताउँछन् ।

जोशी संघका वर्तमान महासचिव पनि हुन् । उनले आफूलाई महासचिव पदमा दोहो-याउन चौतर्फी दबाब आएको भन्दै पुनः सोही पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । सन् २००५ देखि गैरआवासीय नेपालीको अभियानमा जोडिएका जोशीले आफूले पद ओगट्न नभइ काम गरेर देखाउन चाहेको बताएका छन् । कुरा मात्र होइन काम गरेर प्रमाणित गर्नुपर्ने पक्षमा रहेका जोशीले संस्थालाई सबैको साझा र दीगो बनाउनु अहिलेको आवश्यकता रहेको बताए । उनको नेपालमा इन्सुरेन्स, बैंकिङ क्षेत्र, प्रविधि, हाइड्रोलगायत विभिन्न क्षेत्रमासमेत लगानी छ । जोशीले भारतमा पनि आइटी व्यवसाय विस्तार गरेका छन् ।
जोशीले नेपाली समाज टेक्सासको अध्यक्ष भएर काम गरिसकेका छन् । उनी एनआरएनए एनसीसी अमेरिकाको आजीवन सदस्य पनि हुन् । यस्तै मेम्बरसीप कोअर्डिनेटर भएर काम गरिसकेका जोशी २००५ देखि एनआरएन अभियानमा सक्रिय छन् । जोशी सन् २०१७ देखि सन् २०१९ मा अमेरिकाज क्षेत्रको क्षेत्रीय संयोजकका रूपमा आफ्नो जिम्मेवारी पुरा गरिसकेका व्यक्ति हुन् ।

गैरआवाासीय नेपाली संघमा स्मार्ट एनआरएनएका लागि बनाइएको टास्क फोर्सको जिम्मेवारी पाएका जोशीले आफ्नो दुईवर्षे नेतृत्वकालमा यसलाई मुर्त रूप दिइ आसन्न निर्वाचनमा विश्वभर रहेका गैरआवासीय नेपालीहरूले मोबाइलको स्क्रिनमा एक क्लिक गरी निर्वाचन गर्न सकिने प्रविधिको विकाश गरेका हुन् ।

आगामी अक्टोबर १७ तारिखदेखि हुन लागेको एनआरएनएको महाधिवेशन तथा निर्वाचनमा महासचिवका प्रत्यासी जोशीसँग गैरआवासीय नेपाली अभियानसँग सम्बन्धित रहेर केही समयअघि गरिएको कुराकानीको सारसंक्षेप यस प्रकार छ :

गौरी राज जोशी : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका गठन हुनुभन्दा अगाडि अरु धेरै संघ संस्थाहरुले काम गरेका थिए । सबभन्दा पहिले त एसोसियसन अफ नेप्लिज इन अमेरिका (एएनए) नै थियो । एएनए पछि नेप्लिज अमेरिकाज काउन्सिल (न्याक) ले अमेरिकामा बस्ने नेपालीहरुको नेतृत्व नै लियो । न्याकले अमेरिका र क्यानडामा बस्ने नेपालीहरुबीच भातृत्वको विकास गर्ने काम ग-यो । यसले गैरआवासीय नेपालीहरुलाई ग्लोबल रुपमा प्रतिनिधित्व गर्दथ्यो । न्याकमा सदस्य हुने प्रक्रिया फरक थियो । अमेरिकामा रहेका विभिन्न संघसंस्थाहरुलाई न्याकले सदस्य संस्थाको रुपमा लिन्थ्यो । त्यहाँबाट प्रतिनिधिहरु जान्थे र नेतृत्व चुनिन्थ्यो । त्यसै क्रममा पहिलो पटक म सन् २००५ मा न्याक अन्तर्गत रहेर मलाई गैरआवासीय नेपाली संघमा काम गर्ने मौका मिलेको थियो । सन् २००७–२००९ मा म न्याकमै आबद्ध भएर सदस्यको रुपमा काम गरेँ ।

मैले सुरु गरेको एनआरएनको गतिविधि सन् २००५ देखि नै हो । जब म विद्यार्थी भएर आएँ तब यहाँ स्थानीय संस्थामा आबद्ध भएँ । त्यतिबेला म नेपाली समाज टेक्सासको अध्यक्ष भएर काम गरेको थिएँ । त्यसै सन्दर्भमा टेक्सासबाट प्रतिनिधित्व गर्दै म न्याकमा रहेर काम गरें । मेरो काम भनेको अमेरिका र क्यानडामा रहेका धेरै भन्दा धेरै संस्थाहरुसँग सम्पर्क गर्ने थियो । ती संस्थाहरुलाई न्याकमा आबद्ध रहन प्रेरित गर्ने मेरो काम थियो । त्यो मार्फत एनआरएनको गतिविधिलाई अगाडि बढाउने थियो ।

तपाईहरुले स्मार्ट एनआरएन भन्ने अवधारणा ल्याउनुभएको छ , के हो स्मार्ट एनआरएन भनेको ?

गौरी राज जोशी : यो एउटा टेक्नोलोजीमा आधारित कन्सेप्ट हो । मैले भनेजस्तै यसभित्र धेरै कम्पोनेन्टहरु छन् । आर्थिक संकलन गर्ने टुलहरु छन् ।
हरेक सदस्यहरुले आफूलाई मन लागेको प्रोजेक्टहरुमा डोनेशन गर्न पाउने सिस्टमहरु बनाइएको छ । हरेक एनसिसीहरुले गरेका कामहरुलाई यसले प्रबद्र्धन गरेको छ । जस्तै क्यानडा, अमेरिकामा एनआरएनका साथीहरुले गर्नुभएका कार्यक्रम, गतिविधिहरुको बारेमा यसबाट जानकारी प्राप्त हुन्छ । डिजिटल आईडी कार्डको सिस्टम यसभित्र छ । यसमा भोटिङ एप्स पनि छ । यसमा आफू सदस्य भएमात्र भोट गर्न पाइन्छ । तपाईको आफ्नो फेस आईडी सिस्टमले पहिचान ग¥यो भने मात्र तपाई ईन हुन्छ अनि बल्ल मात्र भोट हाल्न पाउनुहुन्छ । यसबाट धाँधलीरहित चुनाव सम्पन्न हुन मद्दत हुन्छ । यो सिस्टममा सदस्यले जुनसुकै बेला पनि भोट हाल्न पाउने हुन्छ । जहिले सुकै हामी कहाँ सदस्यता र चुनावको विषयमा विवाद हुने गर्दछ । यस्तो सिस्टमले यो विवाद न्युन गराउँछ ।

अब यो एमआईएस सिस्टमको कुरा गरौं, यो एमआईएस सिस्टम भनेको के हो ?

गौरी राज जोशी : जब हामी यो संस्थामा चुनिएर आयौं तब यो संस्थालाई पारदर्शी बनाउनुपर्छ, जवाफदेही बनाउनुपर्छ, सबैको पहुँच बनाउन एक एनआरएन एक सिस्टम बनाउनुपर्छ, एउटा देशलाई एउटा सिस्टम, अर्को देशलाई अर्को सिस्टम बनाउनुहुँदैन, सबैलाई समान व्यवहार गर्नुपर्छ भनेर जुन अवधारणा ल्यायौं त्यही अनुसार नै यो कुरा अगाडि बढेको हो । प्रयोग भईरहेका सिस्टमहरु, प्रयोग गरिएका सूचनाहरुलाई एउटा संस्थागत रुपमा संगठित गर्न खोजिएको मात्र हो । यो कुनै रकेट साइन्स भने होइन ।

यसमा के छ भने सबै एनसिसीहरुले आफ्ना सबै सदस्यहरु यही सिस्टमबाट बनाउनुपर्ने हुन्छ । नेपाल जाँदा हतार हतारमा डेलिगेट्स बन्ने, डेलिगेट्स बन्न नपाउँदा झैझगडा गर्ने जुन हाम्रो प्रक्रिया छ, यसलाई पनि सुधार गर्न यो सिस्टम बनाइएको हो । ३० दिन अगाडि नै जो जो सम्भावित डेलिगेट्स छन्, उनीहरुको पहिले नै आईडी कार्ड लिएर सबै सूचना सहितको यो सिस्टम अनुसार राखिन्छ । यो सिस्टममा साना ठूला गरी सबै दाताहरुबाट पैसा कसरी उठाउने, फाउण्डेशन कसरी बनाउने लगायतका कुराहरु समेट्न त्यसलाई चाहिने टुलहरु एकीकृत गरेका छौं । हामीले गरेका कामहरुको सूचनाहरुलाई पारदर्शी ढंगले सबैको पहुँचमा पु-याउन यो सिस्टम ल्याएका हौं ।

यसमा सदस्य बनाउने मात्रै होइन कि ग्राउण्ड फण्डिङ, डिपार्टमेन्टल पाउनेको एक्सपोजर, डिजिटल आइडी कार्ड, मेगा प्रोजेक्टहरुलाई कसरी प्रस्तुत गर्ने, एनसिसीहरुले गरेका कामहरु, सदस्यहरुले पाउने सुविधाहरु, दोस्रो पुस्ताका व्यक्तिहरु नेपाल जाँदा उहाँहरुले पाउने सुविधा लगायत विविध कुराहरु यस सिस्टममा एकीकृत तरिकाले समेटेर राखेका छौं ।

तपाईले नेतृत्व गरेर मोबाइल ब्लड बैंक बस नेपाल सरकारलाई सहयोग स्वरुप हस्तान्तरण गर्ने अभियान सुरु गर्नु भयो । यस किसिमको परोपकारी कामको सुरुवात गर्दा कस्तो सहयोग पाउनुभयो ?

गौरी राज जोशी : साथीहरु धेरैले यस किसिमको कामलाई सहयोग गर्नुभयो । हौसला प्रदान गर्नुभयो । साथीहरुले प्राइभेट रुपमा भएपनि धेरै सहयोग गर्नुभएको छ । यस किसिमको बस सात वटै प्रदेशमा हस्तान्तरण गर्ने विषयमा एनआरएनको आईसिसी कमिटीले निर्णय गरेको छ । वास्तवमा यस्तो च्यारिटीले समाज र व्यक्तिलाई एक अर्कासँग जोड्ने काम गर्दछ । हामीले यस्ता च्यारिटीको काम सधैं गर्नेछौं ।