अमेरिकामा नेपालका १६५ जना कलाकारले दिए सामूहिक प्रस्तुति, यी हुन् प्रस्तुत गरिएका नाचहरु…

काठमाडौं।अमेरिकाको राजधानी वाशिंगटन डिसीमा नेपालका १६५ जनाको सामूहिक प्रस्तुति प्रदर्शन गरिएको छ।बिश्व साँस्कृतिक उत्सव २०२३ मा सहभागिता जनाउदै नेपालका विभिन्न जात जातिका नृत्यहरु प्रस्तुत गरेका हुन्।

वाशिंगटन डिसीमा सेप्टेम्बर २९ देखि अक्टुबर १ सम्म आयोजित विश्व साँस्कृतिक उत्सव २०२३ मा १८० राष्ट्रहरुले आ आफ्नो मौलिक संस्कृतिहरु प्रस्तुति गरेका थिए। सोहीअवसरमा नेपालबाट आइतबार १६५ जनाले विभिन्न जात जातिकाहरुको भेषभुषामा सामूहिक नृत्य ८ मिनेटसम्म प्रस्तुत गरेका थिए।

विश्वभरका विभिन्न संस्कृतिहरु बोकेका राष्ट्रहरुलाई एकै थलोमा जम्मा गरि एकै सुत्रमा बाँध्ने पहल आर्ट अफ लिभिङ्गका संस्थापक तथा आध्यात्मिक गुरु श्री श्री रविशंकरले गरेका हुन्। नेपालका उद्योगपति तथा सांसद बिनोद चौधरीले नेपालको तर्फबाट नृत्य प्रस्तुतिपछि सम्बोधन गरेका थिए।

नेपाली नृत्य समूहमा कुमारी नृत्य, लाखे, अष्ट मातृका, नेवारी, गुरुङ, शेर्पा, थारु, तामाङ्ग, झाक्री लगायत नृत्यहरु प्रस्तुत गरिएका थिए। ३ दिन चलेको उक्त विश्व संस्कृतिक उत्सवमा १८० राष्ट्रहरुबाट १७ हजार कलाकार सम्मिलित भई ६१ वटा नृत्यहरु प्रस्तुत गरेका थिए।

’विश्व संस्कृतिक उत्सव २०२३’ चौथो संस्करण हो। सन् २००६ मा बैंगलोरमा, दोश्रो संस्करण बर्लिनमा सन २०११,तेश्रो संस्करण २०१६ मा दिल्लीमा आयोजना गरिएको थियो । नेपालको नृत्य प्रस्तुतिको विदेशी दर्शकहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन्।