काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)को युवा संयोजक पदमा सुपेन्द्र घिसिङले उम्मेदवारी दिने भएका छन्। विगत १६ वर्षदेखि एनआरएनए अभियानमा सक्रिय घिसिङले आगामी कार्यकालका लागी युवा संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
काभ्रेपलाञ्चोकमा जन्मिएका घिसिङ सन् २०१४मा जापानबाट एनआरएनएको अभियानमा सक्रिय छन्। सन् २०१४ मा प्रवेश गर्दै क्षेत्रीय कमिटी, एनसीसी हुँदै आईसीसी सदस्यमा भारी मतले विजयी भएका थिए। उनले काभ्रेली समाज जापान, तामाङ समाज जापान र जनजाति महासंघ जापानका विभिन्न पदको जिम्मेवारी वहन गर्दै अन्य विभिन्न संघसंस्थाको सल्लाहकारको भूमिकामा सामाजिक कार्य गर्दै आएका छन्।
त्यस्तै एनआरएनएको विभिन्न टास्कफोर्समा बसेर आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेका घिसिङले एनआरएनए अभियानमा लागिरहँदा युवापुस्ताका मुद्दालाई स्थापित गर्ने, दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्ने, विदेशमा रहेका श्रमिकको आवाज बुलन्द बनाउने प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
उनले विभिन्न देशमा छरिएर बसेका नेपाली युवाहहरुलाई स्वरोजगार बनाउने पहल, सामूहिक लगानी, सिप र पुँजीको सदुपयोग गर्दै एनआरएनएमा युवाहरुको आकर्षण बढाउने, सुरक्षित र मर्यादित वैदेशिक रोजगार बनाउन पहल गर्ने, एनआरएनए स्पोर्ट्स एकेडेमीलाई दीर्घकालीन योजनासहित स्थापित गराउने, उच्च शिक्षाको लागि विदेसिएका विद्यार्थीहरुलाई सही मार्गदर्शन दिने र दोस्रो पुस्तालाई एनआरएनएमा आबद्ध गराई नेपालसँग जोड़ने लगायतका प्रमुख उद्देश्य रहेको जानकारी दिए ।