काठमाडौँ। गैरआवासीय नेपाली संघ(एनआरएनए)का युवा उपाध्यक्ष रोशन थापाले पुनः सोही पदमा दोहोरिने इच्छा व्यक्त गरेका छन्। यही अक्टोबर अन्तीममा काठमाडौंमा हुन लागेको संघको ११ औं महाधिवेशनमा थापाले पुनः युवा उपाध्यक्ष पदमै उम्मेदवारी दिने भएका हुन्।
एनआरएनए अभियानमा लामो समयदेखी सक्रिय थापाले संघको विश्व सम्मेलन तथा ११ औं महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वमा फेरि उम्मेदवारी दिने तयारी थालेको बताएका छन्। उनले आगामी कार्यकालमा एनआरएनए निर्वाचन प्रणाली अमेरिकी मोडलमा गराउन र युवाका लागि राष्ट्रिय समितिहरुलाई परिचालन गरेर एक मिलियन डलरको युथ फन्ड स्थापना गर्ने एजेन्डा अघि सारेका छन्।
अफ्रिका र जापानमा व्यवसाय गर्दै आएका थापा करिब दुई दशकअघि अध्ययनका लागि इलामबाट जापान पुगेका थिए। सोहि समयदेखी एनआरएनए अभियानमा सक्रिय थापाले सबै क्षेत्र, भूगोल र जनसंख्याको उचित प्रतिनिधित्व हुनेगरी मतभारको आधारमा सबैले मतदान गर्न पाउने व्यवस्था अपरिहार्य भइसकेको भन्दै त्यसका लागी आँफु प्रतिबद्ध रहेर लाग्ने बताएका छन्।
गैरआवासीय नेपाली संघ तान्जानियाको दुई कार्यकाल अध्यक्षसँगै एनआरएनए अफ्रिका क्षेत्रीय संयोजकसहित अन्य विभिन्न पदहरुमा रहेर कुशल जिम्मेवारी निर्वाह गरिसकेका छन्।