अमेरिका र चीन भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कदै

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कदै हुनुहुछ। संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत भदौ ३० गते अमेरिका प्रस्थान गर्नुभएको थियो।

संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उहाँले सम्बोधन गर्नुभएको थियो। न्युयोर्कमा रहँदा उहाँले अमेरिकाका राष्ट्रपति जो बाइडेन र अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो।

प्रधानमन्त्री दाहाल अमेरिकाबाट सिधै छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो। चीनमा रहँदा उहाँले चीनका राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता र चीनमा भएको एसियाली खेलकुदलगायत विविध समारोहमा सहभागिता जनाउनुभएको थियो।

त्यस्तै, प्रधानमन्त्री दाहालले चीनका प्रधानमन्त्री ली छ्याङसँग राजधानी बेइजिङमा नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय वार्ता गर्नुभयो। यस क्रममा दुई देशबिच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।