काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएन)को अध्यक्ष पदका उम्मेदवार राजेन्द्रकुमार(आरके)शर्माले स्पष्ट योजनासहित एनआरएनए नेतृत्व लिन अघि बढेको बताएका छन्। नेपाली जनसम्पर्क समिति बहराइनले आयोजना गरेको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भिष्मराज आङ्दम्बे सहभागी कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
एनआरएनए अध्यक्षमा विगतमा मध्यपूर्वले धेरैलाई सहयोग गरेको र यसपटक आफ्नो उम्मेदवारी रहेको भन्दै अहिले सबैसामु मध्यपूर्वलाई गुन तिर्ने अवसर रहेको बताए।
महामन्त्री शर्मातर्फ इंगित गर्दै उनले नेपालका राजनीतिक दल र एनआरएनएबीच रगत र मुटुको जस्तो सम्बन्ध रहेको भन्दै यो संबन्ध स्वच्स्छ हुनुपर्ने बताए। एनआरएनएका मुद्दालाई कार्यान्वयन गर्नको लागि राजनीतिक दलको सहयोग जरुरी रहेको पनि त्यसमा राजनीतिक दलको हस्तक्षेप भने हुनु नहुने बताए।
‘अर्थतन्त्र श्रमिकले पठाउने रेमिट्यान्सले चले पनि सधैँ रेमिट्यान्स आउने छैन,’शर्माले भने,‘श्रमिकको आर्थिक हित उकास्ने गरेर उत्पादन मूलक क्षेत्रमा रेमिट्यान्स रकम लगाउन प्राधिकरण गठन गर्ने योजना सहित म आएको छु ।’
बुधबार कर्मभूमिबाट एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गरेका शर्मा शुक्रबार साउदी अरब बहराइन पुगेका हुन्। बहराइनपछि उनी चुनावी अभियानकै क्रममा शनिबारदेखि युरोप भ्रमणमा निस्कने छन्। एनआरएनएको अध्यक्षमा हालसम्म महेश श्रेष्ठ र रविना थापालेसमेत उम्मेदवारी घोषणा गरिसकेको सन्दर्भमा शर्माले आफ्नो अभियानलाई तीव्र बनाएका छन्।




