एनआरएनए प्रवक्ता सोम सापकोटाद्वारा उपमहासचिव पदमा उम्मेदवारी घोषणा, यस्ता छन् उनका योगदान र प्रतिबद्धता…

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का प्रवक्ता सोम सापकोटाले उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। सापकोटाले आफ्ना प्रतिबद्धतासहित विहिबार आफ्नो उमेदवारीको औपचारीक घोषणा गरेका हुन्। बाग्लुङमा जन्मिएर विभिन्न अबसरको खोजि गर्दै युरोप पुगेका सापकोटा एनआरएनए अभियानको करिब सुरुवाती चरणबाटै सक्रिय व्यक्ति हुन्। सन् २००६ बाट एनआरएनए अभियानमा औपचारिक रुपमा सक्रिय सापकोटा हालसम्म विभीन्न पदहरुमा रहेर कुशल नेतृत्व निर्वाह गरिसकेका छन्।

उनले सन् २००६ मा गैर आवासीय नेपाली सङ्घ पोर्चुगलको राष्ट्रिय समन्वय परिषद्को निर्वाचित सदस्य,सन् २००९ मा डेनमार्कको संस्थापक अध्यक्ष, सन् २०११–२०१३ सम्म गैर आवासीय नेपाली सङ्घको केन्द्रीय सदस्य, सन् २०१५–२०१७ युरोपको उपसंयोजक र सन् २०१७–२०१९ मा एनआरएनए आइसीसीका निर्वाचित सह कोषाध्यक्ष, हुँदै सन् २०१९–२०२१ मा केन्द्रीय सल्लाहकार बनेका सापकोटा हाल प्रवक्ताको जिम्मेवारी निर्वाह गरिरहेका छन्।

आगामी कार्यकाल उपमहासचिव पदमा रहेर काम गर्ने ईच्छा व्यक्त गरेका सापकोटाले उमेदवारी घोषणाका क्रममा नेपाल सरकार तथा विदेशस्थित नेपाली नियोग र दूतावासहरूका साथै नेपाललाई सहयोग गर्ने दातृ निकायसँग निरन्तर समन्वय गर्दै संस्थालाई अझै उचाइमा पुर्याउन र संस्थाको बृहत्तर हितका लागि विभिन्न कार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

जसअनुसार विदेशमा बस्ने नेपालीका साझा समस्याको पहिचान र दीर्घकालीन समाधान गर्न, वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका नेपालीको अवस्था सुधार गर्न, विदेशमा बस्ने नेपालीको सामूहिक लगानीको प्रत्याभूति गर्न र नेपालको पर्यटन, कला, संस्कृतिको विकास तथा नेपालको पर्यटन प्रवर्द्धनात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैगरी वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका समस्यामा परेको अवस्थामा एनआरएनएले वैदेशिक रोजगार कोष मार्फत उनीहरूलाई सहयोग, उद्धार र राहत दिने व्यवस्था मिलाउन प्रयास गर्ने प्रतिबद्धता पनि जनाएका छन्। यसैगरी वैदेशिक रोजगारीको सिलसिलामा कागजी समस्या परेर विभिन्न देशका जेलमा रहेका नेपाली नागरिकलाई सहयोग गरेर स्वदेश फिर्ता गर्ने कार्यमा एनआरएनएलाई क्रियाशील गराउन पहल गर्ने पनि प्रतिबद्धता जनाएका छन्।

यस्तै एनआरएनएले सञ्चालन गरेका परोपकार योजनालाई थप प्रभावकारी बनाउने, संस्थाको सुदृढीकरण र पूर्ण व्यवस्थित गर्न पहल गर्ने, सचिवालयलाई व्यवस्थित गर्ने जस्ता प्रतिबद्धता पनि उनले जनाएका छन्। यस्तै राष्ट्रिय समन्वय परिषदहरुलाई थप स्वायत्त बनाउने, संघका नियमित मुद्दाहरूमा पहल गर्ने, बेलायती गोरखाहरुको समस्या समाधान गर्न पहल गर्ने, गैर आवासीय नेपाली सङ्घलाई संस्थागत र सशक्तीकरण गर्दै संस्थामा नयाँ पुस्ता र प्रविधिलाई एकै साथ अगाडि बढाउने दिशामा लागिपर्ने जस्ता प्रतिबद्धता पनि उनले जनाएका छन्।

यस्तै सङ्घलाई महिला, युवा, दोस्रो पुस्ता र श्रमिकमैत्री बनाउँदै अभियानमा सबैलाई जोड्ने, सहभागिताको सुनिश्चितता गर्न पहल गर्ने, सचिवालयलाई थप व्यवस्थित मर्यादित, पारदर्शी र प्रविधिमैत्री सहित क्रियाशील बनाउन लागिपर्ने उनको प्रतिबद्धता छ। सेमिनार, गोष्ठी, सभा–सम्मेलनलाई परिमार्जित गर्दै नीतिगत अस्पष्टतालाई सम्बोधन गर्नेसहित सङ्घलाई थप व्यवस्थित, मर्यादित, एकत्रित र बलियो साझा सङ्गठनका रूपमा निर्माण गर्न संस्थागत रूपमा क्रियाशील हुने उद्देश्यसहित आफ्नो उम्मेदवारी रहेको सापकोटाले बताए।