व्यावसायिक शिक्षाको एजेण्डा अघि सार्दै केसीले उपाध्यक्ष पदमा उम्मेद्वारी दिने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्ष पदमा अष्ट्रेलियाबाट गणेश केसीले उम्मेदवारी दिने तयारी गरेका छन् ।

लामो समयदेखि गैरआवासीय नेपाली अभियानमा जुटेका उपाध्यक्षका प्रत्यासी के.सी.ले चार बुँदे प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिएका छन् । उनको मुख्य जोड प्राविधिक र व्यावसायिक शिक्षालाई प्रबद्र्धन गर्दै अगाडि बढाउने रहेको छ । प्राविधिक शिक्षालाई ध्यान दिंदै युवा युवतीलाई रोजगारीमा जोड्ने र व्यावसायिक शिक्षालाई नेपालको सात वटै प्रदेशमा सञ्चालन गर्ने उनको एजेण्डा छ । त्यस्तै दोहोरो नागरिकतालाई निरन्तरता दिंदै एनआरएनए अभियानमा दोस्रो पुस्तालाई जोड्ने र अध्यक्षले ल्याएको राम्रा योजना तथा कार्यक्रमहरुलाई सफल बनाउन अग्रसर भूमिका खेल्ने के.सीको प्रतिबद्धता छ ।

उनले आफूले बटुलेको अनुभव र अग्रजहरुको सल्लाह सुझावको आधारमा आईसिसीको उपाध्यक्ष पदमा उम्मेद्वारी दिएर संघलाई थप उचाईमा पु-याउन चाहेको बताएका छन् ।
‘एनआरएन अभियानमा रहेका सबैको सम्बन्धलाई प्रगाढ बनाउँदै संस्थालाई दरिलो बनाउने र विश्वभर छरिएर रहेका सबै नेपालीलाई यस अभियानमा जोडने दृढ संकल्पसहित उपाध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ’, केसीले भने –‘मेरो ईच्छा सेवाग्राही भावनाले संस्थामा कार्य गर्न जाने भएकाले मैले हिजो गरेका कार्यलाई हेरेर पनि मलाई सबैले सहयोग गर्नु हुनेछ भन्ने कुरामा आशावादी छु ।’

सामाजिक कार्यमा सधैं कटिबद्ध छन् गणेश केसी

लामो समयदेखि गैरआवासीय अभियानमा लागेका गणेश के.सी संघभित्र चर्चित र लोकप्रिय मानिन्छन् । अष्टे«लिया निवासी के.सी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् ।

सन् १९९५ देखि अस्ट्रेलियालाई आफ्नो कर्मभूमि बनाउँदै आएका केसीले सन् २००१ मा एनएडिएफको नेतृत्व गर्दै सामाजिक क्षेत्रमा आफ्नो आबद्धता सुरु गरेका थिए । त्यसपछि उनले सामाजिक अभियानलाई निरन्तरता दिंदै सन् २००५ मा एनआरएनएको संस्थापक साधारण सदस्य भए । सन् २००७ देखि २००९ को कार्यकालमा उनी एनआरएनए अष्टे«लियाको सदस्य बने । त्यसपछि सन् २००९ मा दुई वर्षे कार्यकालको लागि उनी एनआरएनए अष्टे«लियाको उपाध्यक्ष भए । सन् २०११–२०१३ मा उनी एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा चुनिए । उनी सन् २०१३ देखि २०१५ सम्म संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी सदस्य) र सन् २०२१–देखि २०२३ सम्म एनआरएनए आईसिसीको उपमहासचिव बन्न सफल भए । केसी हाल एनआरएनएको व्यावसायिक शिक्षा ग्लोबल कमिटीका प्रमुख हुन् ।

अस्ट्रेलियाबासी नेपालीहरुको विश्वास जित्दै केसीले आफ्नो कार्यकालमा महापुराणबाट एक करोड पचास लाख रुपैयाँ संकलन गर्न सफल भएका थिए । उक्त रकम उनले सामाजिक कल्याणकारी कोषको स्थापनामा लगाएर नेपाली समुदायको लागि ठूलो योगदान दिए ।
त्यस्तै सातौं ओशिनिया क्षेत्रीय सम्मेलन सफलतापूर्वक सिड्नीमा सम्पन्न गराउँदै उनले एनआरएनएले अगाडि बढाएको हाईड्रो कलेक्टिभ इन्भेष्टमेन्ट अन्तर्गत २७ करोड रुपैयाँ अस्ट्रेलियाबाट संकलन गराएका थिए ।

एनआरएनएको केन्द्रीय भवन निर्माणको लागि ओसेनिया क्षेत्रको जिम्मेवारी लिएसँगै केसी अहोरात्र खटिंदै भवन निर्माणमा २ करोड रुपैयाँ संकलन गर्न सफल भएका थिए ।
सन् २००७ देखि एनआरएनए अष्ट्रेलिया कार्यसमिति सदस्य भएर कार्य सम्पादन गर्दै अनुभव बटुलेका केसीले एनएसडब्लु स्टेट संयोजक, एनआरएनए अष्ट्रेलियाको दुई कार्यकाल अध्यक्ष, आईसीसी सदस्य हँुदै वर्तमान कार्यसमितिमा उपमहासचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् ।

हाल एनआरएनए स्कील तथा भोकेशनल एजुकेशन कमिटिको संयोजकको भूमिकामा रहेका केसीकै नेतृत्वमा नेपालमा विदेशी ज्ञान, सीप र प्रविधि हस्तान्तरणसहितको सीपमूलक कार्यक्रम समेत सञ्चालन हुँदैछ ।