– शुकदेव चापागाईं
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी)को ११ औं महाधिवेशन आगामी अक्टोबर १७ तारिखदेखि २० तारिखसम्म काठमाडौंमा हुँदैछ ।
संघको ११ औं महाधिवेशनले दुई वर्ष (सन् २०२३–२०२५) का लागि नयाँ नेतृत्व चयन गर्दैछ । संघको नयाँ नेतृत्व हत्याउन अहिले सम्म चार जना व्यक्तिहरुले अध्यक्ष पदमा उम्मेद्वारी दिने तयारी गरेका छन् । अध्यक्ष पदमा कतारबाट राजेन्द्र कुमार (आर.के.) शर्मा, जापानबाट महेश कुमार श्रेष्ठ, रसियाबाट डा.बद्री के.सी. र अमेरिकाबाट रविना थापाले उम्मेद्वारी दिंदै छन् । डा. के.सी. र थापा संघको वर्तमान अध्यक्ष हुन् भने शर्मा र श्रेष्ठ संघको वर्तमान उपाध्यक्ष हुन् । यतिखेर अध्यक्षका प्रत्यासी चारै जना आ–आफ्नो पक्षमा माहोल बनाउन लागिरहेका छन् । कोही देश विदेशको भ्रमण गरिरहेका छन् भने कोही चुनावी सभा गर्न व्यस्त छन् ।
कतारबाट आर.के. शर्मा अध्यक्षमा चुनाव लड्दै
कतारको राजधानी दोहाबाट अध्यक्षका प्रत्यासी शर्माले २७ सेप्टेम्बर, बुधबार कार्य योजनासहित २४ बुँदे बाचापत्र सार्वजनिक गर्दैछन् । “गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मुल नारा समेटेर शर्माले २४ महिने (२ वर्षे) कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र सार्वजनिक गर्न लागेका हुन् ।
शर्माले भने, “मैले आइसिसीको उपाध्यक्ष भइ कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्नका लागि अनुभव कमाइसकेको छु । त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी बोक्ने अठोट गरेको छु ।” उनले जोड दिंदै भने, “अध्यक्ष पद मात्रै प्राप्त गर्ने मेरो अभिलाषा होइन । मैले योजनाबद्ध रुपमा कार्य गर्ने लक्ष्य राखेको छु ।”
कतारलाई आफ्नो कर्मथलो बनाएका आर.के. शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन् । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतारको सल्लाहकार हुँदै अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य, मध्यपूर्व संयोजक, आईसिसीको सचिव हुँदै अहिले आईसिसीको उपाध्यक्ष भएका शर्मा अब मध्यपूर्वको प्रतिनिधित्व गर्दै संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को नेतृत्व गर्ने योजनामा छन् ।
जापान निवासी महेश श्रेष्ठ अध्यक्षमा उठ्दै
ललितपुरस्थित होटेल हिमालयमा एक कार्यक्रमको आयोजना गरी श्रेष्ठले आफू अध्यक्ष पदमा उठ्न लागेको घोषणा गरिसकेका छन् । उनले ‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारा तथा पाँच नीतिगत योजनासहितको प्रतिबद्धता पत्र पनि सार्वजनिक गरे ।
सन् २०३० सम्म नेपालको अर्थतन्त्र १०० अर्ब डलरको बनाउन एउटा स्पष्ट खाकासहित संघले नेपाल सरकार तथा नेपालको निजी क्षेत्रसँग सहकार्य गर्ने श्रेष्ठले प्रतिबद्धता जाहेर गरेका छन् । श्रेष्ठले विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशको विकास र समृद्धिका लागि उपयोग गर्न नेपाल सरकारसँग सहकार्य गरी श्रम तथा सीप बैंक स्थापना गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
रसियाबाट डा. बद्री के.सी. पुन : चुनाव लड्दै
अध्यक्ष पदमा डा. बद्री केसीले पुनः उम्मेदवारी दिने भएका छन् । उनी संघको वर्तमान कार्यसमितिको कार्यकारी अध्यक्ष हुन् ।
‘वर्तमान कार्यसमितिको मुख्य जिम्मेवारी भनेको १० औं महाधिवेशनमा देखिएको विवाद मिलाएर ११ औं महाधिवेशनमा निर्वाचन गर्ने थियो । त्यो जिम्मेवारी पूरा गरेको अनुभूति गरेको छु । त्यसैले अब संघका मुख्य मुद्दामा केन्द्रित भएर बाँकी २ वर्ष काम गर्ने योजना बनाएको छु’ डा. केसीले भने ।
उनले गैरआवासीय नेपाली संघको अभियानमा २० वर्षदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा आफू कार्यकारी अध्यक्ष भएको नाताले पनि अध्यक्ष पदमा पहिलो दाबी रहने बताए । डा. केसीले संस्थागत शुद्धिकरण, एनआरएनएमा दोस्रो पुस्ता, महिला, युवाको सहभागिता, नेपालमा १० अर्ब लगानी, विज्ञान प्रविधि, वैदेशिक रोजगारीलगायतका क्षेत्रमा सक्रिए भएर काम गर्ने प्रतिबद्धता जनाए । उनले अब संस्थाको नेतृत्वमा युवा महिला र बौद्धिक व्यक्तित्वले अवसर पाउनु पर्नेमा जोड दिए ।
अमेरिका निवासी रविना थापा पुनः अध्यक्षमा भिड्दै
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका लागि रविना थापाले पुनः उम्मेदवारी दिने तयारी गरेकी छिन् । वर्तमान अध्यक्ष समेत रहेकी थापाले ११ औं महाधिवेशनमा पुनः उम्मेदवारी दिने बताईन् ।
उनले आफूले सुरु गरेको योजनाहरु पूरा गर्नका लागि अध्यक्षमा आउन चाहेको बताएकी हुन् । उनले भनिन् ‘मलाई फेरि अध्यक्ष बन्ने इच्छा छ । म छोटो अवधिका लागि मात्रै अध्यक्ष पदमा बस्न पाएँ । मैले बनाएका कतिपय योजनाहरु कार्यान्वयन गर्न अध्यक्ष पदमा फेरि चुनाव लड्न लागेकी हुँ ।”
अघिल्लो कार्यकालमा ६ महिनामात्रै अध्यक्ष भएकी थापाले अब आफूले २ वर्षे पूरा कार्यकालका लागि नेतृत्व गर्न उम्मेद्वारी दिन लागेकी हुन् ।