आज चिनको हान्झाउमा १९ औँ एसियाली खेलकुदको उद्घाटन हुँदै

काठमाडौं। चीनको हान्झाउ सहरमा हुन लागेको १९औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन आज हुँदैछ। केही खेलहरु यसअघि नै शुरु भइसकेका भएपनि औपचारिक उद्घाटन आज हुन लागेको हो ।

प्रतियोगिताको उद्घाटन चीनका राष्ट्रपति सी जीनपिङले गर्नुहुनेछ। प्रतियोगितामा ४० खेलका ६१ वटा विधामा चार सय ८१ प्रतिस्पर्धा हुनेछन्। आज हुने उद्घाटन समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार पाँच सयभन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुनुहुनेछ। हर्ट टु हर्ट एट फ्युचर अर्थात् भविष्यमा हृदयदेखि हृदयसम्म मूल नारा रहेको प्रतियोगिताका लागि सबै तयारी पूरा भएको आयोजकले जनाएको छ।

विश्वका ४५ देशको सहभागिता रहने ४० खेलमध्ये नेपालको तर्फबाट २९ खेलमा एक सय २७ महिला र एक सय २६ जना पुरुष गरी दुई सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। उद्घाटन समारोमा हुने मार्चपासमा नेपालको झण्डा उसु खेलाडी निमा घर्ती मगर र तेक्वान्दोका वीरबहादुर महराले बोक्ने भएका छन्।