पाँच बुँदे एजेण्डा सहित पन्थले एनआरएनएको सचिव पदमा उम्मेदवारी दिने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि सचिव पदमा अमेरिका निवासी कृष्णजिवी पन्थले उम्मेद्वारी घोषणा गरेका छन् ।

एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष समेत भईसकेका पन्थले आगामी कार्यकालको लागि पाँच बुँदे एजेण्डा सहित सचिव पदमा उम्मेदवारी दिन लागेका हुन् । सामाजिक सेवामा क्रियाशील पन्थ गैरआवासीय नेपालीहरुका लागि वंशज नागरिकताको निरन्तरता, दोहोरो कर खारेजीको व्यवस्था, पंजीकृत सदस्यले नेतृत्व चुन्ने व्यवस्था, संस्थागत एकता र आर्थिक पारदर्शिता जस्ता पाँच बुँदे एजेण्डा सहित सचिव पदको चुनावी दौडमा लागेका छन् । एनआरएनएको ११ औं महाधिवेशन अक्टोबर १७ तारिखदेखि नेपालमा सुरु हुँदैछ ।

“मैले अमेरिकामा एनआरएनएको महत्वपूर्ण जिम्मेवारी पाएँ र विभिन्न कामहरु गरें ।” टिभी सन्डेसँग कुरा गर्दै पन्थले भने, “अब म आईसीसीको तहमा अन्य धेरै कामहरु गर्न चाहन्छु । एनसीसीहरुले धेरै काम गर्न सक्छन तर आईसीसीको तहमा गएर ती सबै कामहरु रोकिन्छन् । एनआरएनएका साधारण सदस्यहरुका पक्षमा आवाज उठाउने पक्षमा छु ।”

हरेक एनसीसीका सबै सदस्यहरुले आईसीसीको निर्वाचनमा पनि भोट हाल्न पाउनुपर्ने र प्रतिनिधि कोटाको सिष्टम हटाउनुपर्ने उनको जोड छ । संस्थालाई एकताबद्ध बनाउने र हरेक कुरामा आर्थिक पारदर्शिता लागु गर्नुपर्ने उनले बताएका छन् ।

एनआरएनए अमेरिकाको उपाध्यक्ष हुँदा पन्थले संस्थाको आफ्नै भवन खरिद गर्न नेतृत्वदायी भूमिका खेलेको, वान एनसिसी वान च्यारिटी अन्तर्गत संयोजक हुँदा सल्यानको एक विकट गाउँमा करिब एक करोड लागतमा प्रसूति गृहको निर्माण गरेको लगायतका कामहरु गरेका थिए । एनआरएनए अमेरिकाको भर्जिनियामा खरिद गरिएको भवनको श्रेय पनि पन्थलाई नै जान्छ । झण्डै तीन लाख अमेरिकी डलर नगद जम्मा गरेर खरिद गरिएको यो योजनाको संयोजक पन्थ नै थिए ।
नेपालको तनहुँ जिल्लामा जन्मिएका पन्थ लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।