काठमाडौं। संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन अमेरिकाको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजदेखी चीन भ्रमण पनि शुरु गर्नुभएको छ। महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री राति नै न्युयोर्कबाट चीन भ्रमणमा निस्कनुभएको हो।
प्रधानमन्त्री प्रचण्ड चीनको हाङ्झाउमा हुने एसियाली खेलुकदको उद्घाटन समारोहमा सहभागी हुन र त्यसपछि द्विपक्षीय भेटवार्ता गर्न चीन जानुभएको हो। न्युयोर्कबाट प्रधानमन्त्रीको सचिवालयसहित परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र अरु परराष्ट्रमन्त्रालयका अधिकारी त्यसतर्फ गएका छन्।अरु टोली नेपालबाटै चीनतर्फ लागिसकेको छ।
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता हुने तय भएको छ।१९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी पनि हाङ्जाओमा रहने र प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट त्यहीँ पुग्ने भएपछि आज भेट हुने भएको हो। औपचारिक भेटवार्ता भएसँगै प्रधानमन्त्री प्रचण्ड एसियाली खेलकुद समारोहमा सहभागी हुन भोलि बेइजिङ पुग्ने कार्यसूची छ।
प्रधानमन्त्री प्रचण्ड र समकक्षी ली छ्याङबीच औपचारिक द्विपक्षीय भेट पर्सि सोमवारका लागि तय भएको छ।भेटमा विभिन्न सहमतिपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।न्युयोर्कको ५ दिनको भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड ८ दिने चीन भ्रमणमा जानुभएको हो।