यसकारण एनआरएनए अभियान ओझेलमा पर्योः आर.के. शर्मा, अध्यक्षका प्रत्यासी एनआरएनए

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष राजेन्द्रकुमार(आरके) शर्माले चुनावदेखि चुनावसम्ममा केन्द्रीत हुँदा एनआरएनए अभियान नै ओझेलमा परेको बताएका छन्। आगामी ११ औं महाधिवेशनबाट चयन हुने नयाँ कार्यसमितिको लागी अध्यक्ष पदका उमेदवार रहेका शर्माले सिमित व्यक्तिहरुको नेतृत्व हत्याउने खेलले गैरआवासीय अभियानको भूमिका नै ओझेलमा पर्दा मूल उद्देश्यबाट पछाडि परेको बताए।

चुनावी अभियानस्वरुप अमेरिका पुगेका शर्माले न्यूयोर्कमा गैरआवासीय नेपाली अभियन्ताहरूसँगको छलफल कार्यक्रममा सम्बोधन गर्दै शर्माले एनआरएनए अभियानले मूल उद्देश्य प्राप्त गर्न नसक्नु दुखःद रहेको र त्यसको जिम्मेवारी आफूले लिने भन्दै अब एनआरएन अभियानले सामाजिक कार्यलाई निरन्तरता दिएर आर्थिक विकासको लागि काम गर्नुपर्नेमा जोड दिए।

अध्यक्षको रूपमा शर्माले सामूहिक लगानी, प्राधिकरण मार्फत देश विकासमा रेमिट्यान्सको रकम ल्याउने योजना अगाडि सारेको जानकारी दिए । विदेशमा बस्ने केही हजार नेपाली धनी र व्यवसायी भए पनि लाखौँ नेपालीहरूको अवस्था सुधार नभएको र देशको विकासको लागि अब रेमिटेन्स रकमलाई उत्पादनमा लगाउन ढिला भइसकेको शर्माले बताए ।

यस्तै फरक प्रसङ्गमा शर्माले मध्यपूर्व बाहेक बाहिर बस्ने नेपालीको नागरिकतादेखि लिएर अरु एजेन्डामा आफू जहिले पनि लागेको स्मरण गराउँदै एनआरएनए अभियानले २० वर्ष पूरा गरेपनि मध्यपूर्व नेतृत्वको विषयमा भने जहिले अमिलो मन आफूले लिएको अनुभव सुनाए ।