एनआरएनहरुलाई प्रधानमन्त्रीको आग्रहः नेपालमा ढुक्कसँग लगानी गर्नुस

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन अमेरिका पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै यस्तो आग्रह गर्नुभएको हो।

उहाँले नेपालमा लगानीको वातावण सुदृढ बन्दै गएको भन्दै विदेशमा रहेका नेपालीहरुको शीप, क्षमता र लगानी बिना मुलुक अघि बढ्न नसक्ने बताउनु भयो। उहाँले वर्तमान सरकार मुलुकको आर्थिक विकास, सम्वृद्धि र सुशासनका क्षेत्रमा गम्भीर भएर अघि बढेको दावी समेत गर्नुभयो।

विदेशमा रहेका नेपालीहरुप्रतिको सोंचमा परिवर्तन भएको भन्दै प्रधानमन्त्री प्रचण्डले एनआरएनहरु पलायन नभई विस्तारित भएको तर्क गर्नुभयो। उत्त अन्तरक्रियामा गैरआवासीय नेपाली विज्ञहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

सो कार्यपत्रले प्रधानमन्त्री प्रचण्डले त्यसलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले आज संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।