काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०२३–२५ कार्यकालका लागि महासचिव पदमा अमेरिका निवासी बुद्धि सागर सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् ।
आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौंमा ११ औं महाधिवेशन हुँदैछ । उक्त महाधिवेशबाट चयन हुने नयाँ नेतृत्वका लागि महासचिव पदमा सुवेदीले उम्मेदवारी घोषणा गरेका हुन् । महासचिव पदमा उम्मेद्वारी घोषणा गरेका सुवेदीले संघको सचिवालयलाई चुस्त र दुरुस्त बनाउन आफू सक्रिय रुपले लागि पर्ने बताएका छन् । सम्पूर्ण राष्ट्रिय समन्वय परिषद् (एनसिसि) लाई मजबुत बनाएर एनसिसिमा रहेका अध्यक्ष एवं पदाधिकारीहरुको भावना र समस्यालाई सम्बोधन गरेर अघि बढ्न सकियो भने यो संघ मजबुत र बलियो हुने सुवेदीको भनाई छ ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसिसि) अमेरिकाको दुई वर्षे कार्यकालका लागि सुवेदी सन् २०२१ मा अध्यक्ष पदमा निर्वाचित भएका थिए । सन् २००३ मा अमेरिका गएका सुवेदी अमेरिकामै बसेर काम गर्दै व्यवसाय सुरु गरे । उनी अहिले अमेरिकाको सफल व्यवसायीको रुपमा चिनिन्छन् । उनले सन् २००६ मा अमेरिकामा व्यवसाय सुरु गरेका थिए । व्यवसाय सुरु गर्नुअघि सुवेदीले अमेरिकाको बाल्टीमोरमा ग्याँस स्टेशनमा काम गर्दथे ।
अमेरिकामा लामो समयदेखि हायात, होलिडे इनलगायत चर्चित होटल सञ्चालन गरिरहेका एनआरएनएका नेता सुवेदीले हालै मात्र भैरहवास्थित पाँच तारे टाईगर प्यालेस होटल रिसोर्ट खरिद गरेका छन् । सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो । हिमालयन टाइगर कम्पनी अमेरिकाको डेलावेयरमा दर्ता रहेको छ ।
सुवेदीले अमेरिकामा हायात, होलिडे इन, ह्याम्पटन, विज्डमलगायत ठूला अन्तर्राष्ट्रिय चेन ब्रान्डका होटेलहरु सञ्चालन गरिरहेका छन् । सुवेदीसहितको समूहले अमेरिकाको सिकागो, वासिंगटन डिसी, नर्थ क्यारोलिना, लुजियानालगायत ठाउँमा होटेल चलाइरहेको छ । नेपालमा भने सुवेदीले अर्कै समूहसँग मिलेर टाइगर प्यालेस खरिद गरेका हुन् ।
महासचिव पदका उम्मेद्वार सुवेदीसँग टिभी सन्डेका सम्पादक शुकदेव चापागाईंले गर्नुभएको कुराकानीको सारसंक्षेप :
१) तपाईं अहिले एनआरएनएको महासचिव पदमा उम्मेदवारी दिनुभएको छ, महासचिव पदमा बसेर तपाईंले के के काम गर्ने लक्ष्य लिनुभएको छ ?
बुद्धि सुवेदी : महासचिव पद भनेको संस्थाको सचिवालयलाई चुस्त, दुरुस्त बनाउने र सबैलाई यो संस्था मेरो हो भन्ने भावना जागृत गराउने ठूलो पदीय जिम्मेवारी हो । मुलतः महासचिवले अध्यक्षले ल्याएको कार्ययोजनाहरुलाई कार्यान्वयन गर्ने गर्दछ । म महासचिव रहँदै गर्दा भोलिका दिनमा अध्यक्षले ल्याउने कार्य योजनालाई कार्यान्वयन गर्दै अगाडि बढाउने मुख्य जिम्मेवारी रहन्छ । त्यसको साथसाथै गैरआवासीय नेपाली संघमा हामीले भोलिका दिनमा अहिले भएका केही विकृतिहरुलाई सुधार गर्दै अझै यसलाई सबल र सक्षम बनाउनुपर्नेछ । हामीले देखेका छौं, सम्पूर्ण राष्ट्रिय समन्वय परिषद् (एनसिसि) लाई मजबुत बनाउनुपर्नेछ । राष्ट्रिय समन्वय परिषद् विना अन्तर्राष्ट्रिय समन्वय परिषद्को कल्पना पनि गर्न सक्दैनौं । एनसिसि नै हाम्रो जग हो । भोलिका दिनमा एनसिसिमा रहनुभएका अध्यक्षहरुको भावनालाई हामीले आईसिसिको बैठकमा राखेर सम्बोधन गर्नुपर्छ । विभिन्न देशका एनसिसिमा विभिन्न खाले समस्याहरु छन् । कुन कुन एनसिसिमा के के समस्याहरु छन् त ती समस्याहरुलाई एनसिसिका अध्यक्षहरुसँग समन्वय गरेर समाधानको दिशा तर्फ अगाडि बढ्न सकियो भने यो संस्था धेरै सबल बन्दै जानेछ ।
सचिवालयलाई पनि चुस्त र दुरुस्त बनाउनुपर्ने जरुरी छ । हामी यो संस्थामा लिन होईन दिन आएका हौं । अहिलेको सचिवालयले राम्रो काम गरेको छैन भनेर म भन्दिन तर यो भन्दा नि अझ बढी गर्नुपर्नेछ । हामीसँग नौ जनाको एउटा टिम हुन्छ त्यो टिमबाट पनि धेरै काम गर्न सक्छौं । यसको साथसाथै हामीले यो संस्थालाई अर्को तरिकाले पनि हेर्नुपर्छ, जस्तो कि यो संस्था वान ईलेक्सन एफ्टर एनोदर ईलेक्सन जस्तो भईरहेको छ । हामीले धेरै काम गरेका छौं तर हामी सबै चुनावमुखी भईदिनाले महत्वपूर्ण कामहरु ओझेलमा परेका छन् । यो संघ कस्तो भईदियो भने चुनाव चुनाव मात्रै भनेर हिंड्नाले संघभित्र अनेक समस्याहरु आईदियो । अब हामीले एकीकृत ढंगले यो संघभित्रको समस्या हल गर्नुपर्ने जरुरी छ ।
२) स्थापनाकालमा एनआरएनए संस्थाको जुन किसिमको महत्व थियो, त्यो अहिले हराउँदै गएको, वादविवाद बढ्दै गएको देखिन्छ, एनआरएन भित्रको समस्यालाई कसरी सम्बोधन गर्दै लैजानुहुन्छ ?
बुद्धि सुवेदी : त्यस्तो ठूलै वादविवाद भनेर मैले केही देख्दिन । जतिबेला हामी चुनावको प्रक्रियामा जान्छौं त्यतिबेला केही न केही कुराहरु आउँछ नै । यतिखेर संस्थामा तीन जना अध्यक्ष छन् । तीन जना अध्यक्ष हुँदा पनि नकारात्मक कुराहरु बाहिर केही पनि आएन । मिलेर सहमतिमा नै संघलाई अगाडि बढाएको देखियो । केही कुराहरु तपाईंले भने जस्तो पनि छ । असन्तुष्टी नभाको भन्ने चाहिँ होईन । तर त्यो किन भयो भने यति छिटो यस संस्थामा यति धेरै गैरआवासीय नेपालीहरुको सहभागिता हुन्छ भन्ने कुरा हामीले सोचेका थिएनौं । छोटो समयमा यो संस्थामा यति धेरै गैरआवासीय नेपालीहरुको विश्वास बढ्यो जुन कुरा हामीले देखिरहेका छौं । यो संस्थामा धेरै गैरआवासीय नेपालीहरु आबद्ध रहँदा पक्कै पनि आकांक्षीहरु बढ्दै गए । नेतृत्व गर्न चाहने साथीहरुको संख्या बढ्दै गयो । साथीहरुले आफ्ना समस्या, गुनासो राख्दै जान थाले । बजारमा यी कुराहरु हामीले सुन्न, देख्न पाईन्छ । यदि बेलैमा अब आउने नेतृत्वले यी कुराहरु समाधान गर्न चाहे भने त्यो सजिलै समाधान हुन्छ ।
३) नेपालको विकास र समृद्धिका लागि के कस्ता योजनाहरु ल्याईनुपर्छ ? तपाईं महासचिव हुनुभयो भने के गर्नुहुन्छ ?
बुद्धि सुवेदी : यदि बाहिरबाट लगानी ल्याउने हो भने त्यसको मूल स्रोत नै गैरआवासीय नेपालीहरु हुन् । अरु विदेशीहरुले नेपालमा कमै मात्र लगानी गरेको देखिन्छ । यो वर्ष अहिलेसम्म ६ अर्ब भन्दा बढी एफडिआई आएको देखिंदैन । हामी धेरै गैरआवासीय साथीहरुले नेपालमा लगानी गर्ने ईच्छा राखेपनि विश्वासको वातावरण अझै बनेको छैन । भोलि लगानी गर्दा बीचैमा कतै सरकारको नीति नियम परिवर्तन हुने हो कि भन्ने हामीलाई आशंका छ । सरकारको नीति (पोलिसी) स्थिर छैन । सरकारको फेरबदल भईरहने नीतिको कारण हामीले ल्याएको लगानी यहीँ कतै डुब्ने हो कि भन्ने चिन्ता छ । हामीलाई लगानी सुरक्षित हुने सेक्योर अनुभव भाको छैन ।
तर पनि हामीले लबिङ के गर्नुपर्छ भने तपाईं (गैरआवासीय साथी) हरु नेपालमै लगानी गर्नुहोस् । तपाईंको लगानी डुब्दैन । लगानी गरे अनुसारको प्रतिफल लिएर जान पाउनु हुनेछ । लगानीका लागि संसारको सबैभन्दा राम्रो ठाउँ नेपाल हो भनेर हामीले त्यो वातावरण सृजना गर्नुपर्छ । सरकारको तर्फबाट पनि गैरआवासीय नेपालीहरुका लागि विशेष सुविधा उपलब्ध गराईनुपर्छ ।
एउटा महत्वपूर्ण माग पुरा भएको छ, गैरआवासीय नेपाली नागरिकता । यसले गर्दापनि नेपालबाट लगानी बाहिर जाने जुन क्रम थियो त्यो रोकिन्छ अब । हाम्रो वर्तमान अध्यक्षले पनि एउटा कुरा भन्नुभाको छ, नेपालमा भएका सम्पत्तिहरु बेचेर बाहिर लैजाने क्रम बन्द गरौं, नेपालमै लगानीका अवसरहरु खोजौं । हामीलाई गैरआवासीय नेपाली नागरिकता प्राप्त भएको छ, सम्पत्तिको सुरक्षा छ भनेर प्रचार गरौं ।
एउटा महत्वपूर्ण कुरा के छ भने नेपालमा व्यवसायीमैत्री वातावरण छैन भनेर संसारमा नेगेटिभ म्यासेज गईरहेको छ त्यो कुरालाई हामीले निरुत्साहित गर्नुपर्छ । अब हामीले नेपालमा व्यवसायीमैत्री वातावरण बनाउन सरकारलाई सुझाव र दबाब दिनुपर्छ ।