“एनआरएनए निर्वाचन महँगो भयो,यसले नेतृत्वमा सबै पक्ष समेट्न सकेन”: आरके शर्मा अध्यक्ष पदका उमेदवार

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)का आगामी कार्यकाल लागी अध्यक्ष पदका उमेदवार राजेन्द्रकुमार शर्मा (आरके शर्मा)ले एनआरएनए निर्वाचन अत्यन्तै महँगो भएको बताएका छन्।

आसन्न ११ औं विश्व सम्मेलन तथा महाधिवेशनको दौरानमा एनसीसी अमेरिकाको न्यूयोर्क च्याप्टरले गरेको कार्यक्रममा सहभागी हुँदै शर्माले संघको निर्वाचन पनि अन्तराष्ट्रिय जगतको युएनको जस्तो महँगो हुँदै गएकोले नेतृत्वमा सबै पक्ष समेट्न नसकेको बताएका छन्। यसले मुलतः महँगो हुँदा श्रमिक वर्ग नै नेतृत्वमा आउन नसक्दा उनिहरुका समस्या ओभफेलमा परेको उनको धारणा छ।

वर्तमान उपाध्यक्षसमेत रहेका शर्माले यसको अन्त्य गर्न र यसको नेतृत्वमा आम श्रमिक तथा विभिन्न पेशा व्यवसायमा संलग्न हुने व्यक्तिहरू आउने गरी काम गर्न लागेकोसमेत बताएका छन्। उनले संघ चुनावदेखि चुनावसम्ममा अभियान सीमित हुँदा मूल उद्देश्यबाटै पछाडि परेको र नेतृत्व हत्याउने खेलले गैरआवासीय अभियानको भूमिका नै ओझेलमा परेको बताएका छन।

यस्तै शर्माले एनआरएनए अभियानमा पछिल्लो समय बढ्दो राजनीतिक दलको हस्तक्षेप स्वीकार्य नभएको बताएका छन् । यद्यपी एनआरएनका मुद्दा कार्यान्वयनको लागि नेपालका सबै राजनीतिक दलसँग सहकार्य गरेर अगाडि जानुपर्ने पक्षमा भने आफु रहेको स्पष्ट पारे ।

उनले भने,“हाम्रा एजेन्डा कार्यान्वयनको लागि नेपाल सरकारसँग सहकार्य गर्नुपर्छ,त्यसका लागी तयार छौं ।” एनआरएनए अभियान पवित्र उद्देश्यको लागि खोलिएको भन्दै शर्माले यसमा राजनीति गर्न नहुनेमा आफू जहिले पनि अडिक रहेको सुनाए ।